जबराले गाेलमटाेल जवाफ दिनुभयाे : कांग्रेस सांसद विश्वकर्मा

 भदौ १५, २०७९ बुधबार १८:२३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले महाअभियाेग सिफारिस समितिकाे बैठकमा गाेलमटाेल जवाफ दिएकाे बताउनुभएकाे छ । 

आज बुधवार समितिकाे बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद विश्वकर्माले सुरुको दिन भएर लामो समय लागेको र आउँदा दिनमा प्रक्रिया चाँडो अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद्लाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त बुझेन र महाअभियोग प्रस्ताव दर्ता भयाे । महाअभियोग प्रस्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त बुझेन र प्रस्तावकमाथि प्रश्न गर्नुभयो । सुरुको दिन भएर एउटै प्रश्नमा प्रतिप्रश्न आउँदा ढिलो भएको हो, भोलिबाट छिटो हुन्छ । उहाँले गोलमटोल जवाफ दिनुभएको छ ।’

यस्तै नेकपा एमालेका सांसद विष्णु पौडेलले छलफल प्रक्रियाभरकाे सबै सामग्री अफिसियल रेकर्ड गरिएको र वेबसाइटमा राखिने जानकारी दिनुभयो । उहाँले एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा रहेपनि समिति सभापति र अन्य सांसद नमानेपछि प्रक्रियाभरका छलफलका भिडियो सामग्री वेबसाइटमा राख्न सहमति जुटेको बताउनुभयो । 

बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोगजस्तो विषय गम्भीररूपमा छलफल हुनुपर्ने धारणा राख्नुभयो । उहाँले आजको बैठकले बयानको समय लम्बिने निश्चित भएको जनाउँदै अबको दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा समितिमा छलफल गरेर निर्णय गर्ने बताउनुभयो । उहाँले बयानका क्रममा प्रधानन्यायाधीश जबराले नेपाल बार, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूमाथि प्रश्न उठाउनुभएको पनि बताउनुभयो । 

प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग सुनुवाइ गर्न गठित महाअभियोग सिफारिस समितिको अर्काे बैठक बिहीवार बिहान ११ बजे बस्नेछ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया