म्याग्दीमा १९ जना उम्मेदवार चुनावी मैदानमा, एमाले र गठबन्धनबीच प्रतिस्पर्धा

 कात्तिक ३०, २०७९ बुधबार १७:४६:१४ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भोट खसाल्न अब तीन दिनमात्रै बाँकी छ । राजनीतिक दल र उम्मेदवारहरू घोषणापत्रको साथमा आ–आफ्नो प्रतिबद्धतासहित गाउँ–गाउँ पुगेका छन् । उनीहरूले चुनावी सभा आयोजना गर्नुका साथै मतदातालाई भेटेर आ–आफ्नो एजेन्डा सुनाउँदै भोट मागिरहेका छन् । 

राजनीतिक दल र उम्मेदवारहरूले चुनाव प्रचार गर्ने समय अब एक दिनमात्र बाँकी छ । यसै क्रममा म्याग्दीमा पनि राजनीतिक दल तथा तिनका उम्मेदवारहरूले चुनावी प्रचार कार्यक्रमलाई अन्तिम चरणमा पुर्‍याएकाे जनाएका छन् । छ वटा पालिका रहेको म्याग्दीमा प्रतिनिधि सभातर्फ एक र प्रदेश सभामा दुई वटा निर्वाचन क्षेत्र कायम गरिएको छ ।  

म्याग्दीमा प्रतिनिधि सभा सदस्यमा पाँच दलीय सत्तारूढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधि सभामा स्वतन्त्रसहित नौ तथा प्रदेशसभा क्षेत्र (क) मा पाँच र (ख) मा छ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

गएको वैशाखमा सम्पन्न पालिका चुनावमा प्राप्त मतको अवस्थालाई हेर्ने हो भने सत्तारूढ गठबन्धन अगाडि छ । गठबन्धनबाट प्रतिनिधि सभामा कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर) र प्रदेश सभातर्फ (क) मा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र (ख) मा माओवादीकै रेशमबहादुर जुग्जाली उम्मेदवार हुनुहुन्छ । 

एमालेबाट प्रतिनिधि सभामा गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, प्रदेश सभा (क) मा जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल र (ख) मा प्रदेश कमिटी सदस्य यामबहादुर गर्बुजा उम्मेदवार हुनुहुन्छ । 

म्याग्दीमा २०४८ सालमा दुई वटा निर्वाचन क्षेत्र रहँदा त्यति बेला नेकपा एमालेका उम्मेदवारहरू चन्द्रप्रकाश बानियाँ र थममाया थापाले जित्नुभएको थियो । यसैगरी २०५१ सालमा पनि एमालेका निलबहादुर तिजिला पुनले जित्नुभएको थियो । २०५६ मा नेपाली कांग्रेसका नारायणसिंह पुन, २०६४ मा नेकपा (माओवादी केन्द्र) का गोविन्द पौडेल, २०७० मा एमालेका नवराज शर्मा र २०७४ मा एमालेकै भूपेन्द्रबहादुर थापा विजयी हुनुभएको थियो । 

२०७४ सालमा एमाले–माओवादी वाम गठबन्धनबाट प्रतिनिधि सभामा एमालेका भूपेन्द्रबहादुर थापा र प्रदेश सभा (ख) मा एमालेकै नरदेवी पुन विजयी हुँदा प्रदेश सभा (क) मा माओवादीका उम्मेदवार विनोद केसी विजयी हुनुभएको थियो । तर यसपालिको चुनावमा वाम–लोकतान्त्रिक गठबन्धन बनेको हुँदा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

आउँदो चुनावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी गठबन्धनसँग नेकपा एमाले र राप्रपालगायत अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरू एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् । पछिल्ला दुई वटा चुनावमा विजयी बनेको एमालेका लागि अहिले विरासत जोगाउने र नेपाली कांग्रेस सत्ता गठबन्धनको बलमा एमालेको विरासत भत्काउँदै जित निकाल्ने प्रयासमा छ ।

गएको पालिका चुनावमा एमाले एक्लैले चार वटा पालिकाको प्रमुख, तीन वटा पालिकामा उपप्रमुख, २२ वटा वडामा विजयी भएको थियो भने कांग्रेसले दुई पालिका अध्यक्ष, एक उपाध्यक्षसहित १७ वटा वडा र माओवादीले एक उपप्रमुख, एक उपाध्यक्षसहित छ वटा वडा जितेको थियो । 

म्याग्दीको ४५ वडाको मतका आधारमा गठबन्धनका दलहरू एमालेभन्दा बलियो देखिएका छन् । एमालेबाट उम्मेदवार बनेका वडाध्यक्षहरूले २३ हजार ९० मत पाएका थिए । १९ हजार आठ सय ७० मत कांग्रेस र आठ हजार पाँच सय ९२ मत माओवादीको पक्षमा खसेको थियो । म्याग्दीमा एमालेभन्दा माओवादी–कांग्रेस गठबन्धन पाँच हजार तीन सय ७२ मतले अगाडि देखिन्छ । 

प्रतिनिधि सभामा गठबन्धनबाट उम्मेदवार बन्नुभएका कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले यसअघि आफू दुई पटकसम्म हारेको भए पनि विचलित नभइ राजनीतिमा क्रियाशील रहेकाले यस पटक चुनाव जित्ने दाबी गर्नुभयो । एमालेबाट उम्मेदवार बन्नुभएका गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले भने म्याग्दीमा विगतदेखि नै एमालेले जित्दै आएको र पार्टी सङ्गठन बलियो रहेकाले यस पटक पनि एमालेले चुनाव जित्ने जिकिर गर्नुभयो । 

आउँदो चुनावका लागि म्याग्दीमा ८६ हजार एक सय २० जना मतदाता कायम भएका छन् । म्याग्दीमा ८२ वटा मतदानस्थल, एक सय १९ मतदान केन्द्र र जिल्ला कारागारमा एक वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । चुनाव गराउनका लागि म्याग्दीमा सुरक्षा जनशक्ति र स्वयंसेवकबाहेक मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी गरेर नौ सय ५२ जना कर्मचारी परिचालन गरिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया