सन् २०२२ मा ६ लाखभन्दा धेरै पर्यटक नेपाल आए

 पुस १७, २०७९ आइतबार १९:२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एनटीबी

काठमाण्डाै – गएकाे एक वर्षमा नेपालमा छ लाखभन्दा धेरै विदेशी पर्यटक आएका छन् । सन् २०२२ मा हवाई माध्ययमबाट छ लाख १४ हजार एक सय ४८ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

यो सङ्ख्या कोरोना महामारी सुरु हुनुभन्दा अघि अर्थात् सन् २०१९ को तुलनामा ४८ दशमलव ७० प्रतिशतले कमी हो । यसअघि विश्व पर्यटन सङ्गठनले नेपालको पर्यटन व्यवसाय सन् २०१९ को तुलनामा सन् २०२२ मा ६५ दशमलव १२ प्रतिशतले पुनरुत्थान हुने आँकलन गरेको भए पनि ५१ दशमलव २९ प्रतिशतले मात्रै पुनरुत्थान भएको हो । 

यस्तै कोरोना महामारी सुरु भएपछिको वर्ष सन् २०२१ काे जुनकाे तुलनामा ३०९ दशमलव ७५ प्रतिशत र सन् २०२० को तुलनामा १६६ दशमलव ९२ प्रतिशत धेरै पर्यटक नेपाल आएका छन् । कोरोना महामारीका कारण तहसनहस भएको नेपालको पर्यटन व्यवसाय ६५ प्रतिशतभन्दा धेरैले पुनरुत्थान भइसकेको निर्देशक लामिछानेले बताउनुभयो । संसारका अरू पर्यटकीय देशको तुलनामा नेपालको पर्यटन पुनरुत्थान चाँडो भएको उहाँले बताउनुभयो ।

सन् २०२२ मा रुस–युक्रेन युद्धको प्रभावका बीच पनि पर्यटक आगमन राम्रो रहेकोले अर्को वर्ष सन् २०१९ कै तुलनामा पुग्ने विश्वास रहेको बाेर्डका निर्देशक लामिछानेले बताउनुभयो ।

यसैबीच इस्वी संवतको नयाँ वर्षका अवसरमा देशभरका पर्यटकीय क्षेत्रमा चहलपहल बढेको छ । केही दिनदेखि पर्यटकले खचाखच भएका पर्यटकीय क्षेत्रमा हिजो र आज बाक्लो उपस्थिति रहेको पर्यटन व्यवसायीले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया