कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्ष चुनाव लागि अन्य दलसँग छलफल गर्ने

 माघ १९, २०७९ बिहिबार १२:५६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली का‌ंग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको चुनावका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । बिहीवार आज पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेको बताउनु भयो । उहाँले संसद् भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको बताउनु भयो । उहाँले राष्ट्रिय सभा उपाध्यक्षको चुनाव र राष्ट्रपतिको चुनावका बारेमा अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा कांग्रेस रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आउँदाे २२ गते राष्ट्रिय सभाको उपाध्यक्षका निमित्त उम्मेदवारी दर्ता गर्ने र २३ गते चुनाव हुने कार्यक्रम रहेको छ । राष्ट्रिय सभाको उपाध्यक्षको चुनावको बारेमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेका छौँ । अर्को नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ २६ गते १ बजे संसद् भवनको ल्होत्से हलमा बस्ने निर्णय गरेका छौँ । संसद् भित्र व्यस्तता भएकाले केन्द्रीय कार्य सम्पादन समितिको बैठक केही समयका लागि सरेको छ । राष्ट्रिय सभाको चुनाव र राष्ट्रपतिको चुनावका बारेमा पनि हामी अरु राजनीतिक दलहरुसँग छलफलका क्रममा छौँ ।’

प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखमा राष्ट्रिय सहमति खोजेकाले त्यहीअनुसार वार्ताका लागि बोलाए कांग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको पनि बताउनुभयो । उहाँले प्रधानमन्त्री सर्वदलीय बैठकमा समेत राष्ट्रिय सहमति खोजेकाले प्रधानमन्त्रीको प्रस्ताव र एजेण्डा बाहिरिएपछि कांग्रेस छलफलका लागि जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति भनिरहनुभएको छ । उहाँले सर्वदलीय बैठकमा पनि भन्नुभएको थियो । हामी सहमति गरेर जाने कुराको बारेमा छलफल गरेर जान तयार छौँ । उहाँको प्रस्ताव, एजेण्डा के हो भन्नेबारेमा सोचिरहनुभएको छ होला, हामी छलफलका लागि तयार छौँ, आफैँ पनि राष्ट्रपतिको चुनावका लागि तयारी गरिरहेका छौँ ।’

प्रमुख सचेतक लेखकले नेपाली कांग्रेस राष्ट्रपतिको चुनावका लागि आन्तरिक तयारीमा जुटिसकेको बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया