समाचार प्रभाव : देवघाटका सुन्तला किसानलाई काठमाण्डौ महानगरको सहयोग

 मंसिर २५, २०८० सोमबार १३:५६:५९ | रासस
unn.prixa.net

तनहुँ – तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा उत्पादित सुन्तलाको प्रभाव काठमाण्डौ महानगरपालिकासम्म परेको छ । हिजो आइतवार ‘गाउँमा करोडौँको सुन्तला, बजार पुर्‍याउन गाह्रो’ शीर्षकमा प्रकाशित समाचारको प्रभावले देवघाटका किसानलाई बजार र अनुदानको व्यवस्था गर्ने विषय महानगरको छलफलमा पुग्ने भएको हो ।

काठमाण्डौलाई मुख्य बजार बनाएर देवघाटमा उत्पादित सुन्तला बिक्री वितरणका लागि बजार व्यवस्थापन, किसानले सिधै अनुदान पाउने व्यवस्थालगायत विषय महानगरको बैठकमा छलफल गरिने कामपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘देवघाटबाट सुन्तला आयात गर्दा बिचौलियाले खाने कमिसन रोक्नुपर्छ । यसका लागि मेयरसँग छलफलमा छौँ । बोर्ड बैठकबाट निर्णय गराएर प्रक्रियामा जाने गरी अगाडि बढेका छौँ ।’

अधिकारीले भृकुटीमण्डपमा बजारको व्यवस्था गर्ने विषयमा छलफल गरिने जानकारी दिनुभयो । बिचौलियाविना किसानका सुन्तला काठमाण्डौ आउनुपर्ने उहाँको भनाइ थियो । ‘देवघाटमा उत्पादित सुन्तलामा प्रतिकेजी ५ रुपैयाँ गाउँपालिकामार्फत किसानलाई अनुदान उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाउन छलफलमा जुट्ने तयारी गरिरहेका छौँ’, अधिकारीले भन्नुभयो । प्राङ्गारिक सुन्तला काठमाण्डौवासीले उपभोग गर्न पाउने वातावरण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले समाचार पढेपछि फोनमार्फत कामपाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले यहाँ उत्पादित सुन्तलालाई बजार र अनुदानको व्यवस्था गर्ने विषय बोर्ड बैठकमा छलफल गरिने जानकारी दिनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाचारले गाउँपालिकाको मुख्य उत्पादनलाई प्रोत्साहन मिलेको छ । महानगरले छलफलमा लगेकाले यहाँका किसानसँगै सबै खुशी भएका छौँ । हामीले यस क्षेत्रको बाटो सहज बनाउने पहलमा लागिरहेका छौँ ।’

तनहुँको कर्णालीका रूपमा देवघाटका ग्रामीण भेगलाई चिनिन्छ । यो ठाउँ सुन्तला उत्पादनको पकेट क्षेत्र हो । यहाँ उत्पादित करोडौँको सुन्तला बजारसम्म पुर्‍याउन बाटोका कारण सकस हुने गरेको छ । यहाँको मुख्य उत्पादन नै सुन्तला रहेको स्थानीय बताउँछन् ।

पालिकाका विभिन्न वडामा यस वर्ष करोडौँको सुन्तला उत्पादन भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । सुन्तला उत्पादनका लागि यहाँको हावापानी र माटो राम्रो भएकाले देवघाट नेपालमै प्रख्यात मानिएको उहाँको भनाइ थियो ।

यहाँका ग्रामीण क्षेत्र, सडक तथा पुलको अभाव, भरियामार्फत ढुवानी गर्नुपर्नेलगायत कारणले बजारसम्म पुर्‍याउन समस्या हुने गरेको थापाले जानकारी दिनुभयो । यहाँ उत्पादित सुन्तला सिधै काठमाण्डौको कालीमाटीमा रहेको तरकारी तथा फलफूल बजारमा लगिन्छ । त्यहाँ देवघाटको सुन्तला नेपालकै उत्कृष्ट मान्दै कारोबार हुने किसानको भनाइ छ ।

देवघाट–३ छापश्वरा लुम्रिङका किसान कर्णसिंह रानाले लामो समयदेखि सुन्तला खेती गर्दै आउनुभएको छ । उहाँले यहाँ उत्पादन राम्रो भए पनि बजारसम्म पुर्‍याउन बाटो र पुलको अभाव, भरियामार्फत ढुवानी गर्दा बढी खर्च लाग्नेलगायत कारणले बजारीकरणमा समस्या हुने गरेको बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवम् सुन्तला किसान भीमबहादुर रानाले किसानलाई सहयोग पुग्नेगरी महानगरले गरेको सूचना पाउँदा खुशी लागेको बताउनुभयो । उहाँका अनुसार समाचारले यहाँका किसानलाई हौसला दिनुका साथै बजारीकरणमा सहयोग पुग्ने विषयले हर्षित बनाएको छ ।

अहिले सुन्तला पुर्‍याउन नाल्दी र गाईघाटमा पुल नहुँदा यहाँका किसानले कोटा, बैदी हुँदै साराङघाटको मोटरेबल पुलको बाटो प्रयोग गरी दमौली हुँदै काठमाण्डौ पठाउने गरेका किसान बताउँछन् ।

सिधा सडक सञ्जाल विस्तार नभएकाले यसरी घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नुपरेको किसान नवराजले बताउनुभयो । ‘केही किसानले मुग्लिन–नारनयणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्दछन्’, उहाँले भन्नुभयो, ‘छापस्वारा दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाण्डौ लैजाने गरेका छन् ।’

यहाँ उत्पादित सुन्तलाका साथै अदुवा, केरा तथा अन्य फलफूल तुइनबाट नै राजमार्गसम्म लगेर बजारसम्म पुर्‍याउने गरिएको नवराजले सुनाउनुभयो । साथै बाख्रा, कुखुरा तथा अन्य पशुपक्षीका लागि दाना चोकर पनि तुइनबाटै ल्याउने गरिएको उहाँले जानकारी दिनुभयो ।

उत्पादित सुन्तलालगायत खाद्यान्न ल्याउन तथा लैजान मुख्य ढुवानीको माध्यम भनेको घुमाउरो बाटो र तुइन मात्रै भएको किसान बताउँछन् । ढुवानी समस्याकै कारण करोडौँको सुन्तला बजारसम्म पुर्‍याउन सास्ती हुने गरेको सुन्तला किसान रानाले बताउनुभयो ।

देवघाटका वडा नम्बर १, २, ३ र ४ का विभिन्न भाग सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । विगतमा यहाँका किसानले बारीबाटै डोकोमा बोकेर नारायणगढलाई बजार क्षेत्र बनाएका थिए । नदीमाथि पुल नहुँदा राजमार्गसम्म किसानको सिधै पहुँच पुगेको छैन । पहुँच अभावका कारण यहाँका किसानले बिचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाण्डाैसम्म बजार विस्तार गर्न बाध्य छन् । सडक सञ्चाल विस्तारसँगै पुल र बाटो नहुँदा यहाँका स्थानीयले उचित फल भने पाउन सकेका छैनन् ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया