चन्दा सङ्कलन गरेर सडक मर्मत गर्दै धितुङवासी

 मंसिर ३०, २०८० शनिबार १४:४९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका स्थानीय चन्दा उठाएर सडक मर्मतको तयारीमा जुटेका छन् । सडक धुलाम्मे भएका कारण गाडी अड्किँदा यात्रु सास्ती खेप्न बाध्य बनेका छन् ।यसकारण धितुङका स्थानीय हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार सडक मर्मतको तयारीमा जुटेका हुन् ।

स्वदेश तथा विदेशमा रहेका स्थानीयबाट सहयोग उठाएर धितुङको हात्तीआहाल, सूर्यज्योती आधारभूत विद्यालय आसपास, भूतपहरा लगायतका ठाउँका सडकमा खोलाको गेगर र ढुङ्गा मिश्रित बालुवा हाल्ने तयारी गरिएको शिक्षक राजकुमार राईले बताउनुभयो ।

अहिले हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार सडक उदयपुरको गाईघाटबाट त्रि–धार्मिकस्थल हलेसी आउजाउ गर्न प्रयोग भइरहेको छ । हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार सडक बनेपछि गाईघाटबाट हलेसी आउजाउ गर्ने छोटो बाटो खुलेको हो ।

गाईघाटबाट फोक्सिङटारस्थित सुनकोसी तरेपछि रेग्मीटार, भाटबेँसी, धितुङ हुँदै हलेसी पुग्न सकिन्छ । पछिल्लो समय त्यस सडकमा दर्शनार्थी बोकेको गाडीको चाप बढे पनि सडक धुलाम्मे भएका कारण गाडी ठाउँ–ठाउँमा भासिएर अड्किने गरेको छ ।

बालाचतुर्दशीको अवसरमा दर्शनार्थी बोकेर हलेसी जाँदै गरेको दर्जनौँ गाडी गएको मङ्सिर २४ गते बिहान ११ बजे हात्तीआहालको धुलोमा फसेपछि साँझ ६ बजे ट्याक्टरले तानेर निकालिएको थियो । गाडी भासिएपछि दिनभर सडकमा अलपत्र बनेको यात्रुले जनप्रतिनिधिलाई ‘तथानाम’ गाली गरेको सुनेपछि गाउँले मिलेर सडक मर्मत गर्ने योजना बनाइएको शिक्षक राईले बताउनुभयो ।

सडक मर्मतका लागि सहयोग उठाउन ‘आफ्नो गाउँ आफै बनाऔँ, युवा समुह धितुङ’ नामको फेसबुक मेसेञ्जर ग्रुप बनाइएको छ । मेसेञ्जर ग्रुपमार्फत हालसम्म २६ जनाबाट ६० हजारभन्दा बढी सहयोग सङ्कलन गरिएको छ ।

सहयोग सङ्कलन कार्य जारी छ । सङ्कलित रकमबाट ट्याक्टरमा गिटी बालुवा ओसारेर नगरपालिकाको डाेजरले सम्याउने तयारी गरिएको छ । धितुङकै तीन जना ट्याक्टरधनीसँग सडक मर्मतका क्रममा तेल हालेर ट्याक्टर प्रयोग गर्ने सम्झदारी बनेको राईले जानकारी दिनुभयो ।

यस्तै सडक मर्मतका क्रममा डोजरका लागि पनि तेलको व्यवस्था गर्ने तयारी गरिएको छ । ‘सडकमा गाडी अड्किएपछि यात्रुले जनप्रतिनिधिलाई गाली गरेको, गुनासो पोखेको सुनेँ,’ शिक्षक राईले भन्नुभयो, ‘ग्रुप बनाएर आफ्नो गाउँका लागि ट्याक्टरबाट ढुङ्गे बालुवा ल्याएर खाल्डाखुल्डीमा हालौँ भनेर सल्लाह गरेँ । सबैको सहमति प्राप्त भयो । डोजरको बेयरिङ बिग्रेकाले केही दिनपछि सडक मर्मत शुरु गर्छौँ ।’

हलेसी तुवाचुङ नगरपालिकाबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिका जोड्ने हलेसी–धितुङ–भाटबेँसी–रेग्मीटार–रसुवाघाट सडक २०७७ असोजमा उद्घाटन गरिएको थियो । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया