दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रयोगमा ल्यायो योजना कार्यान्वयन पुस्तिका

 पुष १३, २०८० शुक्रबार १०:२१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

नगरपालिकाकाे कार्यालय

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याएको छ । उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाका लागि नगरपालिकाले उपभोक्ता समिति गठनदेखि फरफारकसम्मको कागजात सङ्ग्रहित गरिएको योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याएको हो ।

६३ पृष्ठको योजना कार्यान्वयन पुस्तिकामा योजना सञ्चालनका क्रममा तयार पार्नुपर्ने र प्रयोग हुने सम्पूर्ण कागजात सङ्ग्रहित गरिएको छ । योजना सञ्चालन गर्ने क्रममा कागजातको रेकर्ड फाइल तयार पारेर नगरपालिकाको कोठा–कोठा चहार्नुपर्ने बाध्यताबाट उपभोक्ता समितिलाई उन्मुक्ति दिने लक्ष्यका साथ योजना कार्यान्वयन पुस्तिका तयार पारेर प्रयोगमा ल्याइएको हो । योजना कार्यान्वयन पुस्तिकाले नगरपालिकाको प्रशासनिक सेवालाई सरल, सहज र पारदर्शी बनाउन सहयोग पुगेको मेयर तीर्थराज भट्टराईले बताउनुभयाे ।

योजना सञ्चालनका क्रममा उपभोक्ता समितिले आवश्यक कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । कतिपय उपभोक्ता समितिले योजनासम्बन्धी कागजात तयार पार्ने क्रममा अन्योल झेलिरहेका हुन्छन् । कागजी प्रक्रिया पूरा गरेपछि कागजी फाइल बोकेर नगरको योजना शाखा, मेयर, प्रमुख प्रशासकीय अधिकृत हुँदै लेखा अधिकृतसमक्ष धाउनुपर्ने हुन्छ । योजना शाखामा बुझाइएको रेकर्ड फाइलका कागजात, बिल हराउने वा च्यातिने खतरा उत्तिकै हुन्छ । त्यही कारण रेकर्ड फाइललाई विस्थापित गर्न योजना कार्यान्वयन पुस्तिका तयार पारेर प्रयोगमा ल्याएको नगरपालिकाका योजना शाखा प्रमुख नारायण खवासले बताउनुभयाे ।

याेजना कार्यान्वयन पुस्तिकाकाे नमुना

योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याएपछि योजना कार्यान्वयन पुस्तिका भरेर मेयर, प्रमुख प्रशासकीय अधिकृत हुँदै लेखा अधिकृतको कार्यकक्ष धाइरहन पर्दैन । सिधै योजना शाखामा बुझाएपछि खातामा पैसा हालेर फोनमार्फत जानकारी दिने व्यवस्था मिलाइएको मेयर भट्टराई बताउनुहुन्छ । ‘योजनाको कामलाई व्यवस्थित तरिकाले सम्पादन गर्ने र सुशासन कायम गर्ने लक्ष्यका साथ योजना कार्यान्वयन पुस्तिका प्रयोगमा ल्याइएको हो । यसले कसैलाई बार्गेनिङ गर्ने ठाउँ दिँदैन’, मेयर भट्टराईले भन्नुभयाे, ‘अब फाइल बोकेर कोठा–कोठा कुदिरहन परेन । काम गरेअनुसार योजना कार्यान्वयन पुस्तिका भरेर योजना शाखामा बुझाए पुग्छ ।’

योजना कार्यान्वयन पुस्तिकाभित्र उपभोक्ता समिति गठनसम्बन्धी सूचना, उपभोक्ता समिति गठन गर्दाको आमभेलाको निर्णय, लागत अनुमान टिप्पणी र आदेश, योजना सम्झौता कागजात, नागरिकता राख्ने पाना, योजना सम्झौताको टिप्पणी र आदेश, प्रमुख प्रशासकीय अधिकृतको कार्यादेश, सूचना पार्टीको नमुना, किस्तागत/अन्तिम भुक्तानी तथा फरफारक पत्र भर्न मिल्ने गरी राखिएका छन् । यस्तै म्याद थप गर्दाको निर्णय, म्याद थपका लागि निवेदन, खर्च सार्वजनिक सूचना फारम, मेशिनरी उपकरणको भाडासम्बन्धी सम्झौता, कोटेशन स्वीकृत गर्दाको निर्णय, कोटेशन/दररेट टाँस्ने पाना, बिल भर्पाइ टाँस्ने पाना, डोर हाजिर फाइल, काम शुरु हुनुभन्दा अघिको फोटो टाँस्ने पाना, काम शुरु हुँदाको फोटो, काम सकिएपछि प्राविधिकले नापजाँच गरेको र सम्पन्न योजनाको होर्डिङ बोर्ड सहितको फोटो राख्ने पाना छुट्याइएका छन् । 

पुस्तिकामा सार्वजनिक सुनुवाइसम्बन्धी सूचना, सार्वजनिक सुनुवाइको निर्णय, सार्वजनिक परीक्षण प्रतिवेदन, अनुगमन समितिको निर्णय, अनुगमन तथा सुपरीवेक्षण समितिको अनुगमन फारम, फरफारक गर्दाको निर्णय, फरफारक तथा अन्तिम भुक्तानीका लागि वडाध्यक्ष र वडासचिवको सिफारिस तथा नगरपालिकाबाट वडा कार्यालयलाई योजना हस्तान्तरण गर्ने कागजात राखिएका छन् ।

पुस्तिकाको आवरणमा योजनाको नाम, योजनाको किसिम, वडा नम्बर, ठाउँ, बजेट खर्च शीर्षक, योजना/कार्यक्रमको लागत, नगरपालिकाको अनुगमन, सम्झौता मिति र सम्पन्न मिति उल्लेख गर्ने खाली ठाउँ पनि राखिएका छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया