उपचारको रकम तिर्न नसक्दा दुर्गाप्रसाद अस्पतालमै

 पुष १८, २०८० बुधबार १०:१६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य हुनुभएको छ । उहाँले भारतीय जेलमा लामो समय बिताउनु परेको थियो । २०७७ सालमा स्वदेश फर्काइएका उहाँलाई गएको वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ को ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिनमा उपचारका लागि भर्ना गराएका थिए ।

छ महिनाअघि नै उहाँको स्वास्थ्यमा सुधार आएको डाक्टरले बताए पनि घर ल्याउन नसकिएको परिवारले गुनासो गरेका छन् । उपचारमा लागेको खर्च बुझाउन आर्थिक अभावले अस्पतालमै राख्नुपरेको दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले बताउनुभयो । 

उपचारमा सात लाख १५ हजार खर्च भएको र त्यसमा तीन लाख रुपैयाँ बुझाएको तर बाँकी चार लाख १५ हजार रुपैयाँ नहुँदा अस्पतालमै बस्नुपरेको भतिजा गोपालको भनाइ छ । अस्पतालमा छ महिनाअघि नै चार लाख १५ हजार रुपैयाँ बाँकी भएको र अहिले हिसाब–कति पुग्यो थाहा नभएको पनि उहाँले बताउनुभयो ।

भारतीय उच्च अदालतको आदेशअनुसार दिइएको रकम पनि यसअघिकै उपचारमा धेरै खर्च भइसकेको परिवारले जनाएको छ । ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनका अध्यक्ष डा. गिरिराज भन्टानाले दुर्गाप्रसादको स्वास्थ्यमा सुधार आइसकेको बताउनुभयो । सिजोफोर्निया देखिएको र यसबाट पूर्ण निको नभए पनि उहाँमा जति सुधार हुनुपर्ने हो, त्यति भइसकेको र अब पहिलाभन्दा सामान्य जीवन बिताउनसक्ने डा.भन्टानाले बताउनुभयो ।

दुर्गाप्रसाद जेलबाट छुटेर आएपछि मानसिक समस्या देखिएको थियो । इलामको माई नगरपालिका १०, लुम्बाक घर भएका दुर्गाप्रसादलाई २०७७ साल चैतमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएको थियो । उहाँ २० वर्षे उमेर छँदा २०३७ साल माघमा घर छाडी बेपत्ता हुनुभएको थियो ।

घर छाडेकै वर्ष भारत दार्जिलिङमा एक महिलाको हत्या आरोपमा जेल पर्नुभएको थियो । उहाँलाई २०७७ साल चैत ८ मा आफ्नी वृद्धा आमासहितको परिवार रहेको लुम्बाक घर ल्याइएको थियो । अहिले उहाँकी आमाको निधन भइसकेको छ ।  

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया