साविक उमावि शिक्षकहरूले संसदीय समितिमा भने– ‘हाम्राे जागिर जाेगाइदिनुस्’

 पुष १९, २०८० बिहीबार १७:६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – साविक उच्च माध्यमिक विद्यालय (उमावि) तहमा पढाउने शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफूहरूकाे जागिर जोगाइदिन आग्रह गरेका छन् ।

आज बिहीवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष टीकाप्रसाद न्यौपानेले साविक उच्च माध्यमिक विद्यालय तहमा पढाउने शिक्षकहरूकाे जागिर जोगाइदिन आग्रह गर्नुभएको हो । उहाँले साविक उच्च माध्यामिक तहमा पढाउने शिक्षकहरूलाई तत्कालीन समयमा विना लाइसेन्स नियुक्त गरेको भए पनि अहिले आएर लाइसेन्स खोजिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

अहिले पालिकाले लाइसेन्स ल्याउन र नल्याएको खण्डमा बर्खास्तीसमेत गर्ने धम्की दिन थालेकाले त्यस्ता शिक्षकहरूकाे जागिर जोगाइदिन अध्यक्ष न्याैपानेले नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घलाई आग्रह गर्नुभयो । उहाँले शिक्षक महासङ्घले छुट लाइसेन्सको सम्बन्धमा सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘११/१२ को द्वितीय श्रेणीलाई कहाँ राख्नुहुन्छ ? दरबन्दीमा लाने कि सेकेन्ड क्लासमा लाने हाे, लानुपर्‍याे नि । तलब, भत्ता खाइरहनुभएकै छ । तृतीय श्रेणी भनेर अन्याय हुँदैन ? किनभने साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकहरू शिक्षा ऐनको आठौँ संशोधनको दफा ३९ अनुसार माध्यमिक विद्यालयमा द्वितीय श्रेणीमा शिक्षक भएका हुन् । नेपाल सरकारसँग साउन १ गते हामीले गरेको सम्झौतामा पनि यो कुरा व्यवस्था गरेर जाने भन्ने छ । शिक्षक महासङ्घसँग पनि छ । म पालिका महासङ्घका साथीहरूसँग हार्दिक अनुरोध गर्छु– यी साथीहरूको जागिर जोगाइदिनुहोस् ।’

बैठकमा माध्यमिक विद्यालय शिक्षक युनियनकी सहअध्यक्ष कल्पना पनेरुले पालिकाले सामुदायिक विद्यालयहरूलाई नजिकबाट हेर्नुपर्ने बताउनुभयो । उहाँले माध्यमिक विद्यालयहरूलाई व्यवस्थित गर्न आग्रहसमेत गर्नुभयो ।

यस्तै नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालय कर्मचारीहरूलाई आन्तरिक रूपमा स्थायी प्रक्रियामा लगेर शिक्षकसरहको सेवा सुविधा दिन माग गर्नुभयो ।

अध्यक्ष तिवारीले विद्यालय कर्मचारीहरू पालिकाकाे मातहतमा जान पनि तयार रहेको उल्लेख गर्नुभयो । उहाँले सङ्घ सरकारले दरबन्दी स्वीकृत गरे पालिकामा जान पनि सकिने धारणा राख्नुभयो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया