अङ्ग्रेज फौजलाई पराजित गरेको जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण

 पुष २०, २०८० शुक्रबार २०:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – नेपाल–अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको जितगढी किल्ला संरक्षण र पुनर्निर्माणपछि नेपाली सेनाले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

आज शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई किल्ला हस्तान्तरण गर्नुभएको हो । गरुड दल गणले संरक्षण र पुनर्निर्माण गरेको किल्लाको संरक्षण, प्रवर्द्धन र सञ्चालनको जिम्मा अब बुटवल उपमहानगरपालिकाले पाएको छ ।

बुटवल नगरपालिकाको वडा नम्बर १ मा पर्ने यो गढी तिनाउ नदीको बायाँ किनारमा छ । जितगढीमा १८७२ सालको वैशाख ७ गते नेपाली सेना र तत्कालीन इस्ट इन्डिया कम्पनीबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको थियो । कर्णेल उजिरसिंह थापाकाे कमान्डमा तैनाथ नेपाली फाैजले अङ्ग्रेज फैाजलाई हराएकाे थियाे ।

किल्ला हस्तान्तरण कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटकीय केन्द्रका रूपमा विकास गनुपर्ने बताउनुभयो । उहाँले जितगढी नेपाली वीरताको ऐतिहासिक केन्द्रका रूपमा रहेकाले यस वरपरका ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका क्षेत्रलाई एउटै सर्किटमा जोड्न जरुरी रहेको बताउनुभएको छ । जितगढीलाई मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्म जोड्न सके यसले देशको पर्यटन विकासमा योगदान पुग्ने उहाँको भनाइ छ ।

किल्ला हस्तान्तरणपछि मेयर खेलराज पाण्डेयले जितगढी किल्लालाई युद्ध सङ्ग्रहालय, मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार, नुवाकोटगढी, पाल्पा तानसेनको भगवती जात्रासँग जोडेर पर्यटकीय स्थल र नेपाल अङ्ग्रेज युद्धको अध्ययनस्थलको रूपमा विकास गर्ने बताउनुभयो ।

तस्बिर : नेपाली आर्मी

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया