कालो टीका लगाउने अभियानपछि घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य

 पुष २१, २०८० शनिबार १८:२४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बागलुङ – बागलुङको तमानखोला गाउँपालिका–१ मा घरमा सुत्केरी हुँदा कालो टीका लगाउनुपर्ने भएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य भएको छ । घरमा सुत्केरी हुँदा आमा र शिशुको ज्यान जाने जोखिम रहेकोले यो प्रचलन हटाउन परिवर्तनशील स्वास्थ्य आमा समूहले यस्तो अनौठो अभियान चलाएको हो । 

यो अभियानपछि केही वर्ष अघिसम्म सुत्केरी हुने बेलामा गोठ खोज्ने महिलाहरु अहिले भने गर्भ रहेको थाहा पाएदेखि नै स्वास्थ्य चौकी गएर नियमित स्वास्थ्य परीक्षण गर्ने गर्छन् ।  

यो आर्थिक वर्षमा १५ जना सुत्केरी भएकोमा उनीहरु सबैले स्वास्थ्यचौकी गएर नियमित परीक्षण गरी सुरक्षित स्वास्थ्य संस्थामा सुत्केरी भएका हुन् । यो अभियानपछि गाउँमा अहिले घरमा सुत्केरी हुन पाइँदैन । कसैले अटेरी गरे घरमै आमा समूह पुग्छ र कालो टीका लगाइदिन्छ । स्वास्थ्य चौकीमा गएर नियमित परीक्षण नगर्दा पनि आमा समूहले पहेँले टीका लगाइदिने गर्छ । र। नियमित परीक्षण पश्चात स्वास्थ्य संस्थामा सुत्केरी भएमा भने आमा समूहले रातो टीका लगाइदिने गरेको छ । कालो टीका अशुभ मानिने हुनाले घरमा सुत्केरी हुनेको सङ्ख्या दुईवर्ष यता शून्य छ ।

गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भए पनि घरमै सुत्केरी हुने महिलाको संख्यामा कमी आएको थिएन । तर, अहिले आमा समूहले यो अभियान चलाएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य हुन पुगेको हो ।

तीनवर्ष पहिले तमानखोला गाउँपालिकाले बज्रबाङमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । विवाइसी बागलुङसँग मिलेर त्यहा क्लिनिकका लागि भवन बनेको छ । गर्भजाँचका लागि बोंगादोभान स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी त्यहीँ पुग्छन् । त्यहाँबाट बोंगादोभान पठाइएका गर्भवती त्यहाँ सुत्केरी हुन नसक्ने अवस्था आए बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइन्छ । त्यहाँ पुग्न गाउँपालिकाले यातायात खर्च दिन्छ । त्यहाँभन्दा बाहिर जाँदा रु दश हजार खर्च गाउँपालिकाले नै दिने गरेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया