सिरहामा आफ्नै श्रीमतीको जलाएर हत्या गर्ने प्रयास

 बैशाख १३, २०७६ शुक्रबार ७:४७:४५ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – धनुषामा एक नवविवाहितालाई पतिले मट्टीतेल छर्केर जलाएको घटनाको एकसाता पछि सिरहामा फेरि अर्की महिलालाई जलाइएको छ । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका श्रीमानले आगो लगाएका हुन् ।

आगोले शरीरको ८० प्रतिशत भाग जलेको अवस्थामा उनको उद्धार गरिएको थियो । कञ्चनको अवस्था गम्भीर छ । घटनापश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

घटनालगत्तै कञ्चनको उद्धार गरी प्रहरीले उपचारको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । तर शरीरको अधिकांश भाग जलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनलाई उपचारको लागि काठमाण्डौ पठाइएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार घटना बिहीबार बिहान ११ बजेतिरको हो । ‘घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन् हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौँ ।’, उहाँले भन्नुभयो ‘घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई नियन्त्रणमा लिएका छौं । पति बेचन फरार भएका छन् । उनको पनि खोजि भैरहेको छ । घटना के कारणले भएको हो भन्ने बारे अहिलेसम्म पत्ता लागेको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’

गएको वैशाख ५ गते पनि धनुषाको शहीदनगर नगरपालिका–१ पुरवारी टोल चिरैयाकी २० वर्र्षीया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए । 

त्यसपछि गाउँलेले निर्मलाको उद्धार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए । यहाँ उपचार सम्भव नभएपछि निर्मलालाई थप उपचारको लागि काठमाण्डौ लगिएको छ ।  निर्मलाको पनि शरीरको ४० प्रतिशत भाग जलेको छ ।

प्रदेश २ सरकारले छोरीलाई बचाउन मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान नै सुरु गरेको छ । तर पनि यहाँ विभिन्न बाहानामा महिलामाथिको हिंसा बढिरहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया