सडक दुर्घटनामा पोर्चुगलमा एक नेपाली नागरिकको मृत्यु

 जेठ २१, २०७६ मंगलबार १०:५१:६ | रासस
unn.prixa.net

युरोपेली देश पोर्चुगल आउनुभएका गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी ज्यान गएको छ । 

पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गएको शुक्रबार स्थानीय समयानुसार राति साढे ९ बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा त्यही राति ज्यान गएको हो । 

मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भई उपचारार्थ रहेको जनाइएको छ ।

शर्मा  एक वर्ष अगाडि पोर्चुगल आएको लिस्बनमै रहनुभएका उहाँका दाजु अमृतले जानकारी दिनुभयो । शर्माको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ । दाह संस्कारका लागि आवश्यक कानूनी प्रक्रिया शुरु भइसकेको एनआरएनए पोर्चुगल अध्यक्ष कुबेर कार्कीले बताउनुभयो ।

नेपाल सरकारका तर्फबाट गरिनुपर्ने कानूनी सहजीकरणको काम लिस्बनस्थित अवैतनिक नेपाली वाणिज्यदूतको कार्यालयले गर्ने जनाइएको छ । सन् २०१९ को पाँच महिनाभित्र चार नेपालीले पोर्चुगलमा विभिन्न कारणले आफ्नो ज्यान गुमाइसकेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया