हुम्ला जीप दुर्घटना : तालिमप्राप्त गाेताखाेर नहुँदा उद्दारमा ढिलाइ

 असार ३, २०७६ मंगलबार १६:३८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको छ । 

जीप दिउँसो नदीमा खसेको भए पनि जीपमा कति जना थिए भन्नेबारे अहिलेसम्म पनि खुल्न सकेको छैन । 

नदीमा खसेकाहरुको उद्दार गर्न कठिनाइ भएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताउनुभयो । 

उद्दारका लागि स्थानीय प्रहरी घटनास्थल पुगेको भए पनि आवश्यक प्रविधि नहुँदा नदीमा पसेर खोजी गर्न कठिनाई भएको उहाँले बताउनुभयो । कर्णालीकाे पानी चिसाे भएकाले स्थानीय उद्दारकर्मी पनि नदीमा पस्न नसकेकाे रावलले बताउनुभयाे । 

नदीमा हराइरहेकाहरुको तालिम प्राप्त गोताखोरको सहयोगले मात्रै खोजी गर्न सकिने भएकाले आफूहरुले केन्द्रमा यसबारे जानकारी दिएको दुर्घटनास्थलमा रहेका खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भीमराज शाहीले बताउनुभयो । 

उद्दारका लागि भन्दै जिल्लाबाट आएको टोली नदीमा छिर्न नसकेपछि फोटो खिचेर तालिमप्राप्त उद्दारकर्तासहित आउने भन्दै फर्केको उहाँले बताउनुभयो । 

खार्पुनाथ–५ कैलाबालु भन्ने ठाउँबाट लट नम्बर नखुेलेको ७१६६ नम्बरको जीप दिउँसो कर्णालीमा खसेको थियो । 

जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित अरु पनि चढेको अनुमान गरिए पनि को को थिए भन्नेबारे खुल्न सकेको छैन ।

पल्लो खार्पुनाथबाट याङचु गाउँपालिका जाँदै गरेको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया