च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
चितवन – जिल्लामा गएको ४१ दिनमा ३४६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । यसैबीच एक जनाको ज्यानसमेत गएको छ । दिनहुँ सङ्ख्या थपिँदै गएपछि महामारीको रूप लिने आशङ्का गरिएको छ । यसबाट बच्नका लागि सरोकारवाला निकायले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार साउन महिना शुरु भएपछि एक हजार १५३ जनाको नमूना परीक्षण गरिएकोमा ३४६ जनामा सङ्क्रमण भेटिएका हुन् । जिल्लाका नौ वटा अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज, नारायणी सामुदायिक अस्पताल, मनकामना अस्पताल, चितवन अस्पताल, नेशनल सिटी अस्पताल, पुष्पाञ्जलि अस्पताल र रत्ननगरको वकुलहर अस्पतालमा डेङ्गुको परीक्षण हुँदै आएको छ ।
यी अस्पतालमा आएका ज्वरोका बिरामीहरूबाट लिइएको नमूनामा उक्त सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । जिल्लामा हरेक तीन/तीन वर्षमा डेङ्गुको महामारी हुँदै आएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
कार्यालयले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७/०६८ मा तीन हजार २९८ जनाको डेङ्गु परीक्षण गरिएकोमा ७३९ जनामा सङ्क्रमण देखिएको थियो । त्यस आर्थिक वर्षमा पाँच जनाको ज्यान गएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७०/०७१ मा ३७१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । दुई हजार २६१ जनाको परीक्षण गरिएकोमा उक्त सङ्ख्यामा डेङ्गु देखिएको होे । यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा दुई हजार ५६२ जनामा परीक्षण गर्दा ६८७ जनामा डेङ्गु फेला परेको थियो । यो आर्थिक वर्षमा एक जनाको ज्यान गएको थियो ।
त्यसैगरी जिल्लामा आर्थिक वर्ष २०७१/०७२ मा ११९, ०७२/०७३ मा ८५, ०६८/०६९ मा ६८, ०७४/०७५ मा ५९ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो । आर्थिक वर्ष २०६९/०७० मा ५२ जनामा डेङ्गु देखिएको थियो भने गएको आर्थिक वर्षमा एक हजार ९५१ जनाको डेङ्गु परीक्षणमा ३१ जनामा देखिएको थियो ।
तथ्याङ्कलाई हेर्ने हो भने हरेक तीन/तीन वर्षमा डेङ्गुको सङ्क्रमण फैलिएर महामारीको रूप लिएको देख्न सकिन्छ । डेङ्गु रोग सरुवा रोग हो । जुन डेङ्गुको विषाणु भाइरसद्वारा सङ्क्रमित भएको ‘एडिस एजिप्टि’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार यो लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी सङ्ख्यामा पाइने गरेको छ । डब्बाहरू, एयर कन्डिसन, एयर कुलर, ड्रमहरू, पानीका ट्याङ्की आदिमा जमेको सफा पानीमा यसले फूल पार्ने गर्दछ ।
डेङ्गुको सङ्क्रमणको मुख्य लक्षण ज्वरो आउने रहेको भन्दै उहाँले सङ्क्रमण भएमा अचानक उच्च ज्वरो आउने, ज्वरो एक सातासम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने जस्ता लक्षण देखा पर्ने गरेका छन् ।
यसैगरी वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोस हुने लक्षण देखा पर्ने गरेको उहाँले जानकारी दिनुभयो । डेङ्गु ज्वरोविरुद्ध खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
Aug. 28, 2019, 7:56 a.m.१७,००० वाला ले बादर्मुडे मा गरेको हत्या, सालिक राम हत्या र रबिलाई दिएको दुखको पाप जनाताले भोग्दैछन । सास्तृय बचन छ जहाँ सासक पापी छ । त्यस्ले गरेको पाप को फल निरपराध जनाताले पनि भोग्नु पर्छ । यो त्यही भएको हो ।