जागिरको प्रलोभनमा एक दर्जन बढी महिला बलात्कार गर्ने आरोपित पक्राउ

 भदौ १७, २०७६ मंगलबार ६:५०:३५ | रासस
unn.prixa.net

सप्तरी – जागिरको प्रलोभन देखाई एक दर्जन बढी महिलाको बलात्कार गरी लुटपाट गर्ने सप्तरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

लामो समयदेखि प्रहरीको खोजीमा रहेका अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ का २८ वर्षीय सञ्जीव खड्का नाम बताउने सन्तोषकुमार यादवलाई सप्तरी प्रहरीले पक्राउ गरी साेमबार सार्वजनिक गरेको हो ।

रोजगारी डटकममार्फत एनआईसी बैंकलगायत विभिन्न गैरसरकारी संस्थामा जागिर लगाइदिने भन्दै सम्पर्क बनाई सन्तोषले धेरै महिलालाई जालमा पारी बलात्कार र लुटपाट गर्ने गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

आरोपितविरुद्ध पाँच जनाको उजुरी परेको र मौखिक उजुरी दिने अन्य महिला पनि प्रहरीको सम्पर्कमा रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो । सामाजिक सञ्जाल र इमोमार्फत फोन सम्पर्क गरी जागिर लगाइदिने भन्दै विराटनगर बोलाउने यादवले त्यहाँबाट आफ्नो गाउँ लगेर बलात्कार तथा लुटपाट गर्ने गरेको खुलेको छ ।

यादवलाई पक्राउ गर्नुअघि प्रहरीले उनको घरमा छापा मारी लुटिएका युवतीको मोबाइल, नगद र गरगहना बरामद गरिसकेको छ । प्रहरीले यादवको घरबाट लुटिएका महिलाको पर्स, आठ वटा मोबाइल, सुन र चाँदीका गरगहना, नगद ३४ हजार, सनराइज बैंकको भिसा कार्ड, दुई वटा चेकबुक, आन्तरिक राजश्व विभागको एक पोका स्टिकर, चक्कु, खुकुरी र छुरी बरामद गरेको छ । 

इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मिश्रका अनुसार यादवले नेपालगञ्ज, सिन्धुपाल्चोक, सोलुखुम्बु, कञ्चनपुरलगायत विभिन्न जिल्लाका युवतीलाई जागीरको प्रलोभनमा फसाएर लुटपाट गरेका छन् ।

यादवाविरुद्ध धेरैवटा उजुरी परेपछि पक्राउको योजना बनाएको सप्तरी प्रहरीले उनलाई पक्राउ गर्नुअघि विभिन्न प्रमाण सङ्कलन गरिसकेको जनाएको छ । प्रहरीले यादवलाई विशेष सूचनाको आधारमा भदौ १४ गते मोरङको बुढीगङ्गा गाउँपालिका–३ नेमुवास्थित काेठाबाटै पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत युवतीलाई विराटनगर बोलाउने यादवले दिनभरि अलमल गरी साँझ पार्ने गरेको पीडितले बताएका छन् । साँझ परेपछि ‘विराटनगरको जागिर त खुस्कियो सप्तरीमा एउटा जागिर बाँकी छ, विराटनगरबाट बिहानै पुग्न नसकिने भएकोले अहिले नै जाऊँ’ भनेर आफ्नो गाउँ ल्याउने र राति बलात्कार तथा लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

यादव विगतमा जबरजस्ती करणी उद्योगको मुद्दामा कैद भुक्तान नगरी फरार रहेका अभियुक्तसमेत रहेको पनि खुलेको छ । गएको फागुनमा विराटनगरमा एक महिलालाई लुटपाट र जबरजस्ती करणी उद्योग गरेको आरोपमा मोरङ जिल्ला अदालतले उनलाई एक वर्ष छ दिनको कैद सजाय तोकेकोमा उनी कैद भुक्तान नगरी फरार रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया