ठूला यज्ञकाे नाममा सर्वसाधारणबाट पैसा उठाउनेसँग हाेसियार रहन पञ्चाङ्ग निर्णायक समितिकाे आग्रह

 भदौ २०, २०७६ शुक्रबार ११:५४:८ | रासस

काठमाण्डौ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्र अनुसार अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारण जनताबाट पैसा उठाएर धर्मका नाममा ठगी गर्ने व्यक्ति र समूहदेखि होसियार रहन आह्वान गरेको छ ।

आउँदो भदौ २८ गतेदेखि असोज ११ गतेसम्म पितृपक्षमा काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिर, गुल्मीको रिडी, लमजुङलगायतका स्थानमा गर्न लागिएको भागवत महायज्ञ शास्त्रविरुद्ध रहेकाले त्यसका नाममा यजमान बन भन्दै पैसा उठाइरहेकाले सचेत बन्न समितिले सबैमा अनुरोध गरेको हो ।
 
समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले विज्ञप्ति जारी गरी आश्विन कृष्णपक्ष अर्थात् पितृपक्षमा पितृ कर्मबाहेक देवकर्म गर्नै नहुने शास्त्रीय वचनको बेवास्ता गरी केही नजान्ने साधारण जनतालई तान्ने उद्देश्यले ठूला विज्ञापन गरी भ्रम फैल्याउन खोजिएको उल्लेख छ ।

पितृसूक्तबाहेक पुराण आदि पाठ गर्नु नहुने पितृपक्षको समयमा गोकर्णमा २१६ आवृत्ति भागवत पाठ गरिने र २१ करोड बत्ती बालेर देवतालाई समर्पण गरिने भनि सञ्चारमाध्यममार्फत प्रचारप्रसार भैरहेको छ । 

शास्त्र गर्न हुँदैन भनेर तोकेको समयमा गर्न लागिएको यो कार्यक्रममा सहभागी भए २१ कुलका पितृ उद्धार हुने भनी झूटको खेती भैरहेको समितिले जनाएको छ । कुनै कामना राखेर गरिने कर्म शास्त्रले निषेध गरेका महिना, पक्ष, तिथि, बार, नक्षत्र, आश्विन कृष्ण (पितृ) पक्ष, मलमास र विश्वघस्र (१३ दिनको) पक्ष, गुरु एवं शुक्र अस्ताएको र यी दुवै ग्रह बालक वा वृद्ध भएको अवस्थामा पनि कुनै कामना राखेर गरिने (काम्य) कर्म गर्नु नहुने शास्त्रीय वचन रहेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तो बेलामा दैनिक गर्नुपर्ने नित्य र अकस्मात् पर्न आउने बच्चा जन्मिएको, मानिस मरेको, मृतकको काजक्रिया, जात कर्म, नामकरण, अन्नप्राशन, ग्रहण स्नान आदि नैमित्तिक कर्ममात्र गर्नुहुन्छ । प्रत्येक वर्ष मनाइने चाडपर्व, व्रत पनि नित्य कर्ममै पर्ने भएकाले गर्न भने हुने विज्ञप्तिमा उल्लेख छ ।

‘वैदिक संस्कृति एवं राष्ट्रिय चरित्र ध्वस्त पार्ने उद्देश्य बोकेका धर्मध्वज लिङ्ग वृत्ति लिएका अर्थ लोलुप केही व्यक्तिले आयोजना गर्न लागेको कार्यक्रम सर्वथा शास्त्रविरुद्ध छ’, समिति अध्यक्ष गौतमले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ ।

यस्ता कार्यक्रमले सनातन धर्म, कर्म, संस्कार, संस्कृतिमा विकृति ल्याउने, राष्ट्र, राष्ट्रियता र एकताको विशुद्ध भावनामा कमी ल्याउने भएकाले पनि सचेत रहन समितिले सबैलाई आह्वान गरेको छ ।

वेद, धर्म शास्त्रादि ग्रन्थको उपेक्षा गरी अशुद्ध समयमा गरे गराएको कर्मले कामना गरे बमोजिमको फल नदिने भएकाले सबै यजमानलाई सचेत हुन पनि समितिले विज्ञप्तिमार्फत अनुरोध गरेको छ । यजमानलाई फल प्राप्त नहुने निन्दनीय कर्म गराएर दान लिने एवं द्रव्य आर्जन गर्ने व्यक्ति शास्त्रअनुसार पतित हुन्छ । त्यस्ता व्यक्तिको गति नारकीय हुन्छ भन्ने शास्त्र प्रवर्तकहरुको ठोस निर्णय छ ।
 
अशुद्ध समयमा कर्म गराउने पण्डित, पुरोहितहरुलाई सचेत गराउँदै समितिले शास्त्रमा उल्लेख गरिएको शुद्ध समयमा मात्र कामनाले गर्ने कर्म गराउन पनि सचेत गराएको छ ।

समिति शास्त्र अनुसारका कर्म गर्ने समय निर्धारण एवं पञ्चाङ्ग (पात्रो) प्रकाशनका लागि स्वीकृति दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको आधिकारिक निकाय हो । समितिमा वेद, ज्योतिष, धर्मशास्त्र, इतिहास पुराणलगायत शास्त्रीय विषयका विद्वान्हरुलाई सरकारले नियुक्त गर्ने गरेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया