अफगानिस्तानकाे बम विष्फाेटमा ज्यान गुमाएका दुई जनाकाे शव ल्याउन पहल

 भदौ २२, २०७६ आइतबार १३:५२:२ | रासस
unn.prixa.net

काठमाण्डाै - अफगानिस्तानको काबुलमा गएकाे सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णबहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गर्नुभएको छ ।

तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलमा ग्रीन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भरतपुर महानगरपालिका–२१ का थापा र रोल्पाका पुनको बम मृत्यु भएको थियो ।

मृतक थापाकी बहिनी सावित्री अधिकारीका अनुसार शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी ती शव नेपाल ल्याउनका लागि पहल गरिदिन आग्रह गर्नुभएको हो । यस विषयमा दाहालले चासो दिएर नियमितरुपमा ती निकायमा सम्पर्क गरिरहनु भएको उहाँले जानकारी दिनुभयो ।

उहाँको टेलिफोनलगत्तै शनिबार उनीहरूको मृत्युको प्रमाणपत्र आएको, सोमबार साँझसम्ममा शव आइसक्ने जानकारी प्राप्त भएको र मृतकका परिवारले पाउन सक्ने क्षतिपूर्तिका विषयमा पनि पहल भइरहेको अधिकारीले बताउनुभयो । 
    
‘गार्दा वर्ल्ड’ नामक क्यानडेली सुरक्षा कम्पनीमा उनीहरु कार्यरत थिए। पैँतालिस दिनको बिदा सकेर काबुल फर्किएको नवाैँ दिनमा आत्मघाती आतंकवादी हमलामा परेर थापाको मृत्यु भएको थियो ।

गएकाे १० वर्षदेखि क्यानडेली सुरक्षा कम्पनीमा सुरक्षा गार्डको रुपमा कार्यरत थापा अन्तिम पटकका लागि भन्दै काबुल गएको उहाँकी श्रीमती लक्ष्मीदेवीले बताउनुभयो । मृतक थापाका बाबु, आमा, श्रीमती र दुई छोरा छन् ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया