नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय वार्ता सुरु

 भदौ २३, २०७६ सोमबार १६:३१:० | रासस
unn.prixa.net

काठमाण्डौ – नेपाल र चीनका परराष्ट्र मन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता सोमबार राजधानीमा प्रारम्भ भएको छ । चार वर्षको अन्तरालमा परराष्ट्र मन्त्रीस्तरीय वार्ता काठमाण्डौमा भएको हो ।

आर्थिक र विकास साझेदारीमा केन्द्रित रहेर हुने वार्तामा नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुनेछ ।

वार्तामा दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइनेछ ।

नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्ने विषयका साथै द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका मामिलामा पनि गहन छलफल हुनेछ ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएको समझदारीका साथै परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौता तथा नेपालको व्यापार विविधीकरण, व्यापारघाटा घटाउन चिनियाँ सहयोगलगायत विषयमा पनि छलफल हुनेछ ।

परराष्ट्र सचिव शङ्करदास वैरागीका अनुसार वार्तापछि मनाङमा चिनियाँ सहयोगमा अस्पताल निर्माण, भूकम्प पीडितलाई पाँच हजार थान पाल उपलब्ध गराउने तथा चिनियाँ स्वयम्सेवकहरूले नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनेसम्बन्धी तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी हुनुहुन्छ ।

चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईडीसीए) का उपाध्यक्ष, विदेश मन्त्रालयको एसिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी हुनुहुन्छ ।  

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया