हनुमानढोकामा लिङ्गो ठड्याइयो: इन्द्रजात्रा सुरु

 भदौ २४, २०७६ मंगलबार १५:२७:३९ | रासस
unn.prixa.net

काठमाण्डाै - यँया पुन्हीका अवसरमा काठमाण्डाैको हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ ।

अ यँलाथ्व अर्थात् आज भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै  विधिवत रुपमा इन्द्रजात्रा सुरु भएको हो ।यँलाथ्व अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिरअगाडि सिंध्वाकामा ल्याइएको लिङ्गो आज बिहान ९ः१५ बजेको साइतमा ठड्याइएको त्यस कार्यमा संलग्न मानन्धर समुदायले जनाएको छ ।

आजैदेखि योसिँको मुनि सानो फलामको खोरमा ऐरावत हात्तीमा विराजमान स्वर्गका राजा देवराज इन्द्रलाई  पनि प्रदर्शन गरिएको छ । किंवदन्तीअनुसार इन्द्रकी आमाले यँलागा तृतीयाका दिन बसुन्धरादेवीको व्रत बस्न नेपालमण्डलमा ‘पालिजा स्वाँ’ (पारिजातको फूल) र छिक्छिक बुँ (एक फूलको कोपिला) लिएर आउन छोरा इन्द्रलाई अह्राइन् ।

त्यस अनुसार इन्द्रले नेपालमण्डलकाे मरुहिटीको पश्चिमपट्टि एक घरको बगैँचामा घरधनीसँग नसोधी पारिजातको फूल चोरेर लैजान लाग्दा येँलाथ्व द्वादशीका दिन उपाकू यात्रामा रहेका मानिसले इन्द्रलाई पक्रेर तान्त्रिक विधिबाट पञ्चसूत्रले बाँधेर राखी सजाय दिएका थिए । छोरा धेरै समयसम्म नफर्केको देखेर इन्द्रकी आमा स्वयं मर्त्यलोक अर्थात् नेपालमण्डलमा आइन् । काठमाण्डौमा धान फलाउन हुुस्सु पठाइदिने र पितृहरुलाई स्वर्ग लगेर तारिदिने वचन दिने शर्तमा उनलाई मुक्त गरिएको थियो । 

इन्द्रजात्राको प्रारम्भसँगै नेपालमण्डलका केही चोक र गल्लीका साथै लिङ्गो ठ्ड्याइएको स्थान तथा काष्ठमडपको दायाँ, वंघःमा उच्चस्थानमा सबैले देख्ने गरी इन्द्रलाई पञ्चसूत्रले बाँधेर खोरभित्र कैद गरी प्रदर्शन गरिराख्ने प्रचलन छ ।

काठमाण्डाैमा इन्द्रजात्रा सुरु भएसँगै कुमारी, गणेश तथा भैरवको रथयात्रा, मजिपातका रञ्जित समुदायबाट लाखे तथा झ्यालिन्चा नाच, सव भक्कु नाच, पुलुकिसी नाच पनि प्रदर्शन गरिन्छ । देशका विभिन्न पर्व तथा जात्रामध्ये इन्द्रजात्रा बूढाबूढीदेखि केटाकेटीसम्मले रमाउने निकै रमाइलो जात्राका रुपमा लिइन्छ ।

लिङ्गो ठड्याउने जात्रा अर्थात् इन्द्रध्वजोत्थान हेर्न हनुमानढोका वरपर ठूलो सङ्ख्यामा मानिसको भीड लागेको थियो । त्यस अवसरमा गुरुजुको पल्टनले तोप पड्काउनाका साथै विशेष धून बजाएको थियो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया