छिमेकी वडाका अध्यक्ष ‘कुट्ने’ वडाध्यक्ष ६० हजार धरौटी बुझाएर छुटे

 असोज २, २०७६ बिहिबार १९:२७:५१ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – छिमेकी वडाका अध्यक्षमाथि कुटपिट गरेको आरोपमा थुनामा रहेका चम्पादेवी गाउँपालिका वडा नम्बर-८ का वडाध्यक्ष अजय लुइँटेल ६० हजार धरौटी बुझाएर थुनामुक्त भएका छन् ।

त्यसै गाउँपालिकाकाे वडा नम्बर-७ अध्यक्ष सुरेश थापामाथि कुटपिटको अभियोगमा पक्राउ परेका लुईँटेल १३ दिन हिरासतमा बसेपछि धरौटीमा रिहा भएका हुन् ।

लुईँटेलविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो । मुद्दा अनुसन्धान गरेर प्रहरीले जिल्ला प्रशासन कार्यालयमा बुझाएपछि जिल्ला प्रशासन कार्यालयको आदेशमा धरौटी तिरेर वडाध्यक्ष लुईँटेल थुनामुक्त भएको प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताउनुभयो ।

लुईँटेलले रक्सी खाएर चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा वडा नम्बर ७ का वडाध्यक्ष थापालाई गएकाे असार ३० गते कुटपिट गरेको आरोपमा मुद्दा दर्ता भएको थियो । गाउँपालिकामा काम गरिरहेको अवस्थामा दिउँसो रक्सी खाएर आएका लुईँटेलले निहुँ खोज्दै कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा थापाले गत १ साउनमा उजुरी दिनुभएको थियो ।  

 

मुद्दा दर्तापछि एक महिनासम्म फरार रहेका लुईँटेललाई सदरमुकाम आएको समयमा प्रहरीले पक्राउ गरेकाे थियो ।

लुईँटेल कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् भने नेकपाबाट निर्वाचित वडाध्यक्ष थापा नेकपाका जिल्ला सदस्य हुन् । अध्यक्ष, उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य जितेको कांग्रेस र नेकपाबीच गाउँपालिकाको बजेट लगायतका विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ ।

थापा र लुईँटेलबीच गाउँपालिकाका योजना लगायतका विषयमा विवाद हुने गरेको थियो । गाउँपालिकामा जनप्रतिनिधिबीचको विवाद तथा कर्मचारी तथा शिक्षक नियुक्तिका मुद्दाका कारण विकासका काम प्रभावित हुँदै आएका छन् । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया