साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
पर्वत - निर्माणाधीन उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डको काम लामो समयदेखि अलपत्र बनेको छ ।
करिडोरको पर्वत खण्डअन्तर्गत फलेवास–अर्मादी खण्ड ठेकेदारको लापर्वाहीका कारण अलपत्र बनेको हो । २०७३ साल असार २२ मा सम्झौता भई २०७५ जेठ २१ गते सम्पन्न गर्नुपर्ने भए पनि अझै ३० प्रतिशतभन्दा बढी काम बाँकी रहेको छ ।
सम्झौता अवधि सकिएको डेढ वर्षसम्म पनि सडकको काम अलपत्र बनेको हो । ठेकेदारको लापर्वाहीका कारण काम सम्पन्न हुन नसकेको पाइएको छ । नौ करोड १७ लाख ४९ हजार २४५ रुपैयाँको लागतमा निर्माण हुन लागेको यस खण्डको फलेवास ढिकदेखि मोदीवेणीसम्म ट्र्याक खुले पनि सवारीसाधन चल्ने अवस्था छैन भने मोदीवेणीदेखि अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ ।
त्यस खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सन प्रालि सुकेधारा काठमाण्डौको ढिलासुस्तीका कारण सम्झौता अवधि नाघेको डेढ वर्षसम्म पनि काम सम्पन्न नगरेको कार्यालयले जानकारी दिएको छ । कार्यालयले पटक-पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम सुरु नगरेपछि २०७६ साल जेठ ४ गते १० प्रतिशत जरिबानासहित म्याद थप गरिएको हो । प्रतिदिन ४५ हजार ९०० रुपैयाँका दरले जरिबाना लगाएर म्याद थप गरेको चार मिहना बितिसके पनि अझै काम पुनः सञ्चालन नगरेको कार्यालयले जनाएको छ ।
त्याे खण्ड १४ किलोमिटर रहेको छ । कार्यालयले ट्र्याक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले अहिलेसम्म झण्डै ६ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ भने तीन करोड १७ लाख रुपैयाँ भुक्तानी हुन पनि बाँकी रहेको कार्यालयले जनाएको छ ।
पटक-पटक पत्राचार गर्दा पनि काम शुरु नगरेको आयोजना प्रमुख नगेन्द्र सुुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिकजसो ठेकेदारलाई सम्पर्क गरेर काम सुरु गर्न ताकेता गरेको भए पनि बेवास्ता गरेको हो । उहाँले अझै पनि आफूले पहल गरिरहेको बताउँदै अब पनि सुरु नगरे कानुनबमोजिम कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, 'हामीले निरन्तर सूर्य कन्ट्रसनका सञ्चालक सूर्यबहादुर खड्कालाई सम्पर्क गरेर काम नियमित गर्न दबाब दिइरहेका छौँ, तर अहिलेसम्म सुरु गरेको छैन ।' अब अन्तिम पटक चेतावनी दिइने र उक्त कम्पनीले काम नगरे ठेक्का सम्झौता रद्द गरिने उहाँले बताउनुभयो । साउन, भदौ, असोजभित्र काम गर्छु भनेर लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म सुरु नगरेको आयोजना प्रमुख सुवेदीको भनाइ छ ।
यता सूर्य कन्ट्रक्सनका सञ्चालक सूर्यबहादुर खड्काले विभिन्न समस्याका कारण केही समय ढिलाइ भएको बताउँदै आगामी पुस १५ गतेभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । वर्षायाम भएकाले काम सुचारु गर्न सकेका छैनौँ भन्दै उहाँले अब केही पहरा कटान गरेर ट्र्याक खोल्ने काम र ग्राभेलिङको काम मात्र बाँकी रहेकाले तीन महीनाभित्र सम्पन्न हुने दाबी गर्नुभयो । हाम्रा निर्माण उपकरण साइटमै रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, 'अहिले बर्खा लागेर काम भएको छैन आगामी पुस १५ भित्र काम सक्छौँ ।' राष्ट्रिय गौरवको योजना लामो समयदेखि अलपत्र परेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला ठेकेदारले तीन महीनाभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको हो ।
उता कालीगण्डकी करिडोर आयोजनाको कार्यालय पाल्पाले ठेकेदारले काम गर्छु गर्छु भनेको तर अझै बेवास्ता गरेकाले पत्रिकामा सूचना नै जारी गरेर कारबाहीको प्रक्रिया अघि बढाउन लागेको बताएको छ । कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । यसले पर्वतको उत्तरदेखि दक्षिणसम्म छिचोल्ने भएका कारण यसलाई राष्ट्रिय गौरवको योजनाका साथै पर्वतको ‘लाइफलाइन’को रुपमा हेरिँदै आइएको छ ।
पछिल्लो समय सेतीवेणीदेखि रानीपानीसम्म कालोपत्रे गर्नका लागि अर्थमन्त्रालयले बजेट सहमति दिएको छ भने रानीपानीदेखि फलेवाससम्म स्तरोन्नतिको काम ७० प्रतिशत पूरा भएको छ । करिडोरको पर्वतखण्डमा पर्ने मोदीखोला, लमायखोला, सेतीखोला र आँधीखोलामा समेत पुल निर्माणको काम पनि भइरहेको छ ।
यसैबीच अलपत्र अवस्थामा रहेको उक्त सडकका कारण मोदीवेणी घाटमा शव दाहसंस्कारका लागि जाने मलामी समस्यामा परेका छन् । सडकले पुरानो पैदल बाटो पुरिदिएका कारण जोखिम मोलेर घाटमा जानुपर्ने अवस्था रहेको छ । उक्त घाटमा दैनिक आधा दर्जनको हाराहारीमा विभिन्न ठाउँबाट शव दाहसंस्कारका लागि ल्याउने गर्दछन् ।
त्यस सडकको केही समय अघि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले अवलोकन गर्दै समयमै सम्पन्न गर्न आग्रह पनि गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।