गाईगोरु मृत्यु प्रकरण : छानबिन समितिद्वारा दाेषीलाई कारबाही गर्न सिफारिस

 असोज ८, २०७६ बुधबार १८:४३:४८ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपालगञ्जबाट दैलेख लैजाने क्रममा सुर्खेतको कटकुुवा जङ्गलमा गाईगोरु मरेको घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिले बुधबार गृह मन्त्री रामबहादुर थापालाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयका अनुसार छानबिन समितिले घटनामा केही व्यक्ति दोषी देखिएकाले कारवाहीका लागि सिफारिस गर्दै बुधबार गृहमन्त्री थापालाई प्रतिवेदन पेश गरेको हो । प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिसका आधारमा दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गएको भदौ १२ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाएको झण्डै ३०० मध्ये ३५ गाईगोरु सुर्खेतको कटकुवा जङ्गल आसपास क्षेत्रमा मृत फेला परेका थिए । घटनापछि भदौ १४ गते गृह मन्त्रालयले गाईगोरुको अस्वभाविक मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको सिफारिस गर्न मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले घटनास्थलका साथै बाँके, सुर्खेत, दैलेखका सम्बद्ध अधिकारी, स्थानीय समुदाय, नेपालगञ्ज उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरी, ट्रक चालक लगायतसँग भेटेर छलफल र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार पारेको संयोजक पाठकले जानकारी दिनुभयो ।

त्यस घटनामा नेपालगञ्ज उपमहानगरपालिकाको लापर्वाही देखिएको भन्दै स्थानीयले कारबाहीको माग गरेका थिए । उपमहानगरपालिकाको अगुवाइमा ती गाईगोरुलाई यहाँको काञ्जी हाउसबाट दैलेख पठाउने क्रममा त्याे घटना भएको थियो । उपमहानगरपालिकाले नियतवश घटना भएको अस्वीकार गर्दै आएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया