ब्रुमर सञ्चालनको पाँच महिना : सडकको अवस्था उस्तै

 असोज ९, २०७६ बिहीबार ९:४१:४७ | रासस
unn.prixa.net

काठमाण्डाै – महानगरपालिकाले ब्रुमर सञ्चालन गरेको पाँच महिना बितिसक्दा पनि काठमाण्डाैको सडकमा कुनै परिवर्तन आउन सकेको छैन ।

सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाण्डाैवासीको बाध्यता हो । नियमितजस्तो पानी परेकाले ब्रुमर सञ्चालन गर्न समस्या भएको काठमाण्डाै महानगरपालिकाले जनाएको छ । 

कामपाले ब्रुमर सञ्चालन गरेको पाँच महिना भयो, महानगरको सडकमा धुलो कम भएको छैन । कामपा वतावरण विभागका अनुसार हरेक दिनजसो पानी पर्दा ब्रुमरले नियमित सडक सफा गर्न पाएको छैन, जसका कारण जनअपेक्षाअनुसार धुलो कम हुन सकेको छैन् ।  

कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीको कारण हुने हिलो सफा गर्नु अर्को थप चुनौती हो ।

दैनिक १० टन धुलो सङ्कलन गर्दै आएका सात यान्त्रिकका कुँचोले अहिलेसम्ममा करिब ५०० टन धुलो सङ्कलन गरिसकेको श्रेष्ठको भनाइ छ । सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको पनि उहाँले जानकारी दिनुभयो । महानगरले सुन्दर, स्वच्छ र सफा शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थाले पनि नगरवासीले सफा काठमाण्डाैको अनुभूति गर्न पाएका छैनन् । 

गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच र त्यसको केही समयपछि चीनको सहयोगमा आएको दुई गरी सात ब्रुमर प्रयोगमा रहे पनि काठमाण्डाैको सडक सफा हुनसकेको छैन । सात वटै ब्रुमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ । 

प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डी हो । यो समस्या समाधानका लागि सडक विभागले केही स्थानको सडकको खाल्डाखुल्डी पुर्ने काम गरे पनि धेरै स्थानको काम हुन बाँकी रहेको छ । जसका कारण ब्रुमर सञ्चालन गर्न समस्या भएको छ ।

न्यूरोड, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र कामपाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो । महानगरसँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ । उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक सफा गर्दै आएको छ । सञ्चालनमा रहेका ब्रुमर १० करोड ८० लाख रुपैयाँमा ल्याइएको हो ।

ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कूल, रानीपोखरी, काठमाण्डाै भ्यूटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको विभागले जनाएको छ ।

कानूनीरुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरु सडकहरु सडक विभागको मातहतमा रहेको छ  ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया