चिनियाँ राष्ट्रपति सीको भ्रमणमा उच्चस्तरीय सुरक्षा

 असोज २४, २०७६ शुक्रबार ७:२:५४ | रासस
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो । 

आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटलसम्मको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । यो क्षेत्रमा सुरक्षासहित आवश्यक तयारीस्वरूप रिहर्सलसमेत भइरहेको उहाँले बताउनुभयो । 

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले यही असोज २५ र २६ गते नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । उहाँको सुरक्षामा काठमाडौँको जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, ससस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना सहभागी सुरक्षा समन्वय समितिले आन्तरिक सुरक्षाको जिम्मा लिएको छ । नेपाली सेनाका बलाधिकृत रथीको नेतृत्वमा समिति बनाएर सुरक्षाको प्रबन्ध मिलाइएको छ ।

यो समितिले विभिन्न चरणमा बैठक बसेर आवश्यक तयारी गरेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । जसले मुख्य सुरक्षाको जिम्मा लिने छ । काठमाडौँका प्रजिअ दाहालले तोकिएको मापदण्ड र सिद्धान्त अनुसारको सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले ललितपुर र भक्तपुरका सुरक्षाकर्मीसँगसमेत समन्वयमा तयारी गरिएको बताउनुभयो । 

राष्ट्रपति सीको भ्रमणका लागि सुरक्षामा नेपाल प्रहरीको तर्फबाट नेतृत्व लिनुभएका प्रहरी अतिरीक्त महानिरीक्षक पुष्कर कार्कीले अन्तर्राष्ट्रिय विशिष्ट व्यक्ति आउँदा अपनाउने आवश्यक सुरक्षा व्यवस्था सबै अवलम्बन गरिएको जानकारी दिनुभयो ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ । २३ वर्षपछि हुन लागेको भ्रमणले आपसी मित्रता र सहकार्य थप अभिवृद्धि हुने विश्वास गरिएको छ । महत्वपूर्ण विषयमा सम्झौतासमेत हुने जनाइएको छ ।

राष्ट्रपति सी सवार हुने सडकहरू नयाँ कालोपत्रेसहित चिल्लो बनाइएको तथा ठाउँठाउँमा नेपालको प्राकृतिक सुन्दरता झल्कने तस्वीर र ब्यानर राखिएको छ । सम्भावित क्षेत्र र चोकमा नियमित सुरक्षा गस्ती बढाइएको छ । 

ठाउँठाउँमा स्वागतद्वार बनाउने, सडक पुनःनिर्माणलाई तीव्रता दिने पार्कश आकर्षित गर्ने फूलका बिरुवा सार्ने तथा रङरोगन गर्ने काम तीव्र रूपमा भइरहको छ । विभिन्न स्थानमा विश्वसम्पदा सूचीमा सूचीकृत र नेपालमा मौलिक संस्कृति झल्कने तस्बीर सहितको फ्लेक्स बनाएर राखिएको छ । राष्ट्रपति सीलाई नागरिकस्तरबाटसमेत भव्य स्वागतको तयारी छ ।
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया