चीन बढीभन्दा बढी व्यापारिक नाका खोल्न तयार छ : राष्ट्रपति सी

 असोज २५, २०७६ शनिबार २२:४७:१९ | रासस
unn.prixa.net

काठमाण्डौ - चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको सहयोगमा केरुङ काठमाण्डौ सुरुङ मार्गसम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्नुभएको छ ।

उहाँले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने भनेर घोषणा गर्नुभएसँगै यो परियोजना अघि बढ्ने संकेत देखिएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको राजकीय रात्रिभोजमा सम्बोधन गर्दै उहाँले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको पनि बताउनुभयो ।

राष्ट्रपति सीले कान्तिपुर नगरीमा आफूले नयाँ र पुराना आफ्ना मित्रहरुलाई भेटेको र नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकामा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो ।  उहाँले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताउनुभयो ।

नेपाल र चीनका विभिन्न शहरबीच भगिनी सम्बन्ध कायम गरिने बताउँदै उहाँले दुई देशबीचको पारस्परिक मैत्री अङ्कुर होस् भन्ने कामना गर्नुभयो ।

“हामीबीचको आधा शताब्दीभन्दा बढीको  सम्बन्धले विश्वमै नमूना पेश गरेको छ, हाम्रो सम्बन्धमा केही समस्या छैन, मित्रता मात्र छ”,  उहाँले भन्नुभयो । चिनियाँ राष्ट्रपतिले राष्ट्रपति भण्डारी र आफू विकासका चुनौतीलाई सामना गर्दै अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ । बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ । भूकम्पपछिको पुनःनिर्माणमा अझ सहायता वृद्धि हुनेछ ।” 

शैक्षिक क्षेत्रमा लगानी बढाउने, बढीभन्दा बढी चिनियाँलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने  र जलवायु परिवर्तनसम्बन्धी नेपालको चासोलाई सम्बोधन गर्ने

प्रतिबद्धता व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिले  साझा गृह पृथ्वीको रक्षा र सगरमाथा क्षेत्रको पर्यावरणीय सन्तुलन कायम गर्न पनि सघाइने दृढता व्यक्त गर्नुभयो ।

विकास निर्माणका निम्ति हामीले तयार पारेका योजना र खाकालाई कार्यान्वयन गरेरै छाड्ने दृढता उहाँले व्यक्त गर्नुभयो । आइतबार आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पारस्परिक हित र साझा चासोका विषयहरुमा विचार आदानप्रदान गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया