नेपालको समृद्धिमा चीनको सहयोग अपरिहार्य : अध्यक्ष तिमल्सिना

 असोज २६, २०७६ आइतबार १०:३३:३५ | रासस
unn.prixa.net

काठमाण्डाै – राष्ट्रियभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य भएको बताउनुभएको छ ।

नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको शिष्टाचार भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष तिमल्सिनाले नेपाल भ्रमण गर्नुभएकोमा नेपाली नागरिक खुशी भएको र भ्रमणका लागि आफूले धन्यवाद दिँदै समृद्धिमा सघाउन आग्रह गरेको बताउनुभयो । 

अध्यक्ष तिमल्सिनाले सङ्घीय संसद्का तर्फबाट राष्ट्रपति सीसँग होटल सोल्टीमा भेटवार्ता गर्नुभएको थियो । अध्यक्ष तिमिल्सिनाले नेपाललाई चीनको तर्फबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । 

‘नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनका विरुद्ध नेपालमा कुनै गतिविधि हुन दिँदैनौँ’, भेटका क्रममा उहाँले भन्नुभयो । त्यसैगरी उहाँले चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा नेपाल साझेदार बन्न पाउँदा आभारी रहेको र परियोजनाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

राष्ट्रपति सीले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सफल बनाउन चीन सबै किसिमका सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘नेपालको संसद्को तर्फबाट यहाँ र सांसदहरुलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु’, राष्ट्रपति सीले भन्नुभयो ।

यसअघि शनिबार नै चिनियाँ राष्ट्रपति सीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया