राष्ट्रपति सीकाे भ्रमणले दुई देशकाे आपसी सम्बन्धमा थप बल पुगेकाे छ : सभापति देउवा

 असोज २६, २०७६ आइतबार ११:४८:५६ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटमा द्विपक्षीय आपसी सम्बन्धलाई थप सबल बनाउने विषयमा छलफल भएको बताउनुभएको छ ।

शनिबार साँझ भएको भेटमा सभापति देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) प्रति नेपालको समर्थन र बढी प्रतिफल हुने परियोजनामा लगानी सहयोगको अपेक्षा गर्नुभएको काङ्ग्रेसका सह-महामन्त्री एवं पूर्वपरराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

भेटमा सभापति देउवाले नेपाली काङ्ग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीच लामो समयदेखि सुमधुर सम्बन्ध रहिआएको बताउँदै तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनको नेपाल भ्रमणका बेला आफू पहिलो पटक प्रधानमन्त्री रहेको स्मरण गर्नुभएको थियो ।

भेटवार्तामा सभापति देउवाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि छिमेकी मित्रराष्ट्रको अहितमा प्रयोग हुन नदिने राष्ट्रपति सीलाई विश्वास दिलाउनुभएको डा. महतले जानकारी दिनुभयो ।

राष्ट्रपति सीको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र दुवै देशले एकआपसबाट व्यापार, ऊर्जा, पूर्वाधारलगायतका क्षेत्रमा लाभ लिन सकिने सभापति देउवाले भेटमा विश्वास व्यक्त गर्नुभएको थियो । 

राष्ट्रपति सी दुई दिवसीय नेपालको राजकीय भ्रमणका लागि शनिबार अपराह्न नेपाल आइपुग्नुभएको हो । उहाँ आइतबार दिउँसो एक बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया