सबै तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी सहमत

 असोज २६, २०७६ आइतबार १३:२९:५५ | रासस
unn.prixa.net

काठमाण्डौ – नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आउनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेतासँग आग्रह गर्नुभएको छ । 

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवका हैसियतले राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सहित सचिवालयका सदस्यसँगको भेटवार्तामा चीनमा आफूहरुले नागरिक र देश सही बाटामा डोर्‍याएका कारण नागरिकको अपार समर्थन पाएको र यो सद्भाव नागरिकको सत्ताका रुपमा स्थापित र लोकप्रिय भएको उल्लेख गर्नुभयो । 

भेटमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रपति सीले नेपालको राजनीतिक उपलब्धी, विकासको पहल र नेपालको विशेषतासहितको प्रयत्नलाई बधाइ दिनुभएको र चीन नेपालको विकासका प्रयासलाई सहयोग गर्न तत्पर रहेको विश्वास व्यक्त गर्नुभएको जानकारी दिनुभयो ।  

‘नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ । हामीबीच पहिलेदेखि नै राम्रो सम्बन्ध रहिआएको छ । यसलाई सबै तहमा विश्वास र विस्तार गर्नुपर्छ’, राष्ट्रपति सीले भन्नुभयो, ‘हामीहरुबीचको सम्बन्धलाई सरकार जनता, पार्टीको तहमा अगाडि बढाउनुपर्छ । दुई कम्युनिष्ट पार्टी भएकाले हाम्राबीचको राजनीतिक तहमा सम्बन्धका दायरा र आयामलाई अगाडि बढाउनुपर्छ ।’

चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९४९ मा शक्ति आर्जन गरेकै आधारमा मात्रै आफूहरु हिँडिरहेको भन्ने नभएको बताउँदै राष्ट्रपति सीले थप्नुभयो, ‘शक्ति प्राप्त गरेका कारणले मात्रै होइन । कम्युनिष्ट पार्टीले आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्छ । त्यसलाई केन्द्रमा राखेर समाजवाद निर्माण गर्नुपर्छ । चीन र नेपालको बीचमा सकारात्मक पाटो मात्र छैन । चुनौतिका पहाड पनि छन् भन्ने बुझ्दै अगाडि बढ्नुपर्छ, जुन कुरा मैले हिजोको सम्बोधनमा समेत इङ्गित गरेकोे छु ।’

भेटका अवसरमा नेकपाका अध्यक्ष दाहालले चीन र चिनियाँ कम्युनिष्ट पार्टीसँगको मित्रतालाई नेकपाले धेरै महत्व दिएको र एक चीन नीतिप्रति शब्दमा मात्र नभ व्यवहारमा समेत प्रतिबद्ध रहेको बताउनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, ‘चीनको विकासबाट हामी पनि लाभान्वित हुन चाहन्छौँ । नेपाल र नेपाली जनताले त्यसबाट लाभ लिन सक्छन् भन्ने हाम्रो विश्वास छ । तपाईँको नेतृत्वमा चीनले अझै बढी विकास गरी सबल समाजवाद निर्माण गरोस् भन्ने हाम्रो पनि अपेक्षा छ ।’

राष्ट्रपति सी रहनुभएको सोल्टी होटेलमा भएको भेटवार्तामा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुनुहुन्थ्यो । 

त्यसपछि राष्ट्रपति सीले नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग बेग्लै भेटवार्ता गर्नुभएको थियो ।

राष्ट्रपति सी चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत हुनुभएकाले दुई पार्टीका स्तरमा छलफल भएको हो । गएको असोज ७ गते काठमाण्डौमा नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच आपसी सम्बन्ध विस्तारबारे सम्झौता भएको थियो । भेटमा राष्ट्रपति सीका साथ चिनियाँ विदेशमन्त्री वाङ यी, अन्य नेता र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रपति सी नेतृत्वको प्रमण्डल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित द्विपक्षीय वार्तामा विभिन्न सम्झौता भएको छ । गएको असोज ७ गते सम्पन्न सम्झौतामा उच्चस्तरीय भ्रमण आदानप्रदान गर्ने, वैचारिक र राजनीतिक छलफल तीव्र बनाउने र विकासका ढाँचा आदानप्रदान गर्ने उल्लेख गरिएको छ । 

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालको उपस्थितिमा भएको सम्झौतापत्रमा नेकपा विदेश विभाग प्रमुख नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले हस्ताक्षर गर्नुभएको थियो । 

यही अवसरमा सी विचारधाराबारे अन्तरक्रियासमेत गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा शनिबार नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका राष्ट्रपति सी आइतबार दिउँसो स्वदेश फर्कँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया