खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘एक्सरसाइज कब्रियन पेट्रोल २०१९’ सैनिक अभ्यास प्रतियोगितामा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ ।
बेलायतको वेल्स, ब्रेकनमा यही असोज २४ गतेबाट सञ्चालन भएको प्रतियोगितामा नेपाली सैनिक टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन नेपाली सेनाबाट प्रमुख सेनानी अशिमदेव गुरुङको नेतृत्वमा १० जनाको सैनिक टोली गएको असोज ६ गते बेलायत प्रस्थान गरेको थियो । युद्धकालीन विशेष परिस्थितिको कल्पना गरी शत्रुपक्षको गतिविधिसमेत समेटेर सञ्चालन गरिने यस विश्वस्तरीय सैन्य अभ्यासमा सहभागी हुने टोलीको शारीरिक सहिष्णुता र पेशागत दक्षताको मूल्याङ्कन गरिन्छ ।
अत्यन्त कठिन भौगोलिक इलाकामा सञ्चालन हुने अभ्यासमा सहभागीले दुई दिनभित्रमा हतियार तथा झण्डै ५० पाउण्ड तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित लगभग ५० किलोमिटर दूरी पार गर्ने गर्छन् ।
यो क्रममा सहभागी टोलीको लडाइँको तयारी, नक्सा र कम्पासको भरमा उनीहरूले दिन र रातमा गर्ने निर्धारित स्थानसम्मको यात्रा, खबर सङ्कलन, घाइते–बिरामीको व्यवस्थापन, विष्फोटक पदार्थ पत्ता लगाउने क्षमतालगायत रसायनिक, जैविक र आणविक हतियार प्रहार भएको अवस्थामा अपनाउने सतर्कतासमेत विभिन्न दक्षताको परीक्षण गरिन्छ ।
अभ्यासमा बेलायती फौजका १०६ र नेपालसमेत अन्य ३४ देशका गरी कुल १४० सैन्य टोलीको सहभागिता रहेको निर्देशनालयले जनाएको छ । नेपाली सेनाको प्रतिनिधित्व श्री विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका टोलीले गरेको थियो ।
प्रतियोगितामा नेपाली सेनाको पेशागत प्रतियोगिताको मर्यादाक्रमको आधारमा गण तथा गुल्मका फौज र बाहिनीबाट छानिएका व्यक्ति सम्मिलित टिम सहभागी हुने गर्दछन् । सन् १९६० बाट वार्षिक रुपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस्तो अभ्यास प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।