पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइ माग गर्दै हजारौंको ज...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशका अध्ययन र कार्यरत युवा वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा साेमबारदेखि सुरु भएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिकले देशमै रहेर योगदान दिनुपर्ने बताउनुभएको हो ।
उपराष्ट्रपति पुनले भन्नुभयो, 'नेपाली जनताको उत्थान र आर्थिक उत्पादकत्व वृद्धिमा युवा वैज्ञानिकको अतुलनीय योगदान छ । घर घरमा श्रम गर्न सानासाना मेशिन र त्यस्तै प्रकारका प्रविधि भित्र्याउनुपर्छ । विदेशमा रहेर वैज्ञानिक खोज अनुसन्धान गर्नुभन्दा मातृभूमिमै रहेर अनुसन्धान गर्नु औचित्यपूर्ण हुनेछ ।'
बेलायतमा औद्योगिक क्रान्तिपश्चात प्रविधिको विकास भएको उल्लेख गर्दै उहाँले त्यसैगरी नेपाली वैज्ञानिकले पनि विज्ञान प्रविधि र नवप्रवर्तनलाई नेपाली जनजीवनसँग जोड्न आवश्यक रहेको जनाउनुभयो । कार्यक्रममा सम्मेलन सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको लिखित सन्देश प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओलीले यस आयोजनाले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि एकअर्कासँग अन्तरसम्बन्धित रहेकाले यो बिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउँदै युवा वैज्ञानिकलाई स्वदेशमा फर्काएर प्रतिभाको सम्मान गरिने कार्यक्रम रहेको बताउनुभयो ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विज्ञान र प्रविधिको प्रयोगमार्फत सुशासन, विकास र समृद्धि दिएर सबै नेपालीको घरआँगनमा खुशी दिलाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न सरकारले थप बजेट विनियोजन गर्न आग्रह गर्नुभयो ।
युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले प्रदेश नं १ मा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र खोल्न लागेको जानकारी दिँदै सातै प्रदेशमा क्रमशः यस केन्द्रको विस्तार गरिने बताउनुभयो ।
सम्मेलनमा ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट नेपाली युवा वैज्ञानिकले भाग लिएका छन् भने भारत, जापान र चीनबाट समेत वैज्ञानिकको सहभागिता छ । ६ चरणमा विभाजित सम्मेलनमा १८ वटा विषयमा कार्यपत्र प्रस्तुति, छलफल र ज्ञानको आदानप्रदान हुनेछ । कार्यक्रममा भारतका वैज्ञानिक किसान लालको पनि उपस्थिति छ ।
समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कुटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा सम्मेलनमा छलफल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।