पाकिस्तानमा पूर्वप्रधानमन्त्री खानको रिहाइ माग गर्दै हजारौंको ज...
मंसिर ११, २०८१ मंगलबार
चितवन - चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रतिबिरुवा दश रुपैयाँ दिने भएको छ ।
गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रतिबिरुवा दश रुपैयाँ दिने भएको हो ।
गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न 'एक फलफूलको बोट रु दशको नोट' कार्यक्रम ल्याइएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, 'इच्छाकामनाको भूगोलमा फलफूल खेतीको राम्रो सम्भवना छ, किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न एक फलफूलको बोट रु दशको नोट कार्यक्रम ल्याएका छौँ ।'
गाउँपालिकाले व्यावसायिक फलफूलखेती गर्नेका लागि दुई सयदेखि पाँच सय बोटसम्म अनुदान दिँदै आइरहेको छ । ती बिरुवा सफलताका साथ हुर्काउने व्यावसायिक किसानलाई प्रति बिरुवा दश रुपैयाँ प्रदान गरिने अध्यक्ष गुरुङको भनाइ थियो ।
गाउँपालिकामा सुन्तला, कागती, नास्पातीलगायतको फलफूलको उत्पादन राम्रो हुने गरेको छ । साथै बाँझो जमीन भाडामा लिई व्यावसायिक खेती गर्ने किसानलाई एक लाख रुपैयाँ, तीन दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख, व्यावसायिक बाख्रापालक किसानलाई ६० हजार रुपैयाँसम्मको अनुदान उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा तीन दुहुना भैँसी पाल्ने ८ जनालाई जनही एक लाख रुपैयाँ, व्यवसायिक तरकारीखेती गर्ने आठ जनालाई जनही एक लाख रुपैयाँ, बाख्राखोर सुधारका लागि २० जनालाई जनही २५ हजार रुपैयाँ, ब्याड बोकाका लागि २० जनालाई जनही ४० हजार रुपैयाँ र बङ्गुरपालक दुई जना किसानलाई जनही २५ हजार रुपैयाँ अनुदान प्रदान गारिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङले किसानलाई व्यावसायिक कृषि पेशातर्फ आकर्षित गर्नका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले किसानका लागि वडा नम्बर-४, कुरिनटारमा शीत भण्डार निर्माण गरिएको बताउनुभयो । साथै वडा नम्बर-३ फिस्लिङमा तरकारी सङ्कलन केन्द्र निर्माण भइरहेको जानकारी दिनुभयो ।
चितवनको दुर्गम भेगमा रहेको यस इच्छाकामना गाउँपालिकाका बासिन्दाको तरकारीखेती र पशुपालन नै मुख्य आम्दानीका स्रोत हुन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।