कात्तिकले ल्यायो डोम समुदायमा खुशी

 कात्तिक ६, २०७६ बुधबार ८:४६:१० | रासस
unn.prixa.net

फाइल फोटो

महोत्तरी – घरआँगनमा आइपुगेका अतिथिसँग मुखको बोलीले शिष्टाचार निभाई रहे पनि प्रगाश मरिकको हात भने कप्टेरा उन्दै छिटी बनाउनमै ब्यस्त छ । मुखमा आएको दीपावली र छठ पर्वमा माग भएका बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना तयार गर्न भ्याइनभ्याइ परेपछि प्रगाशसहितका महोत्तरीका सबैजसो गाउँ/नगर बस्तीका डोम समुदायको ब्यस्तता बढेको हो । 

महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुर बस्तीको मुखमै सानो खरले छाएको झुप्रो प्रगाशको घरसंसार हो । दशैं सिद्धिएर कात्तिक कृष्णपक्ष शुरु हुनासाथ प्रगाश दिनरात नभनी चोया र कप्टेराबाट डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना बनाउन ब्यस्त हुनुभएको हो । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै ओछ्यानमा ढलेका प्रगाश बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पु¥याउनुहुन्छ । 

चन्द्रमास गणनाले कात्तिक कृष्णपक्ष टेक्नासाथ प्रगाशजस्तै महोत्तरीसहितका मध्यपूर्वी तराईका अतिविपन्न डोम समुदायको अनुहारमा खुशी झल्कन्छ । यो पक्षको अन्तिममा पर्ने दीपावली र त्यसलगत्तै कात्तिक शुक्लपक्षमा सुरु हुने छठ पर्वमा आफ्नो सीपले बजार पाउने भएपछि यी पर्व डोमका लागि खुशी र उमङ्गको बन्ने गरेको छ । 

बाँसका चोया र कप्टेराबाट विभिन्न प्रकारका सामान (चोया र कप्टेराबाट बन्ने राखनधरनका सामान) बनाउने पूख्र्यौली पेशाका डोम दीपावली र छठमा यी सामानको माग बढ्ने भएपछि खुशी देखिने गरेका हुन् । दीपावली र छठ नजिकिँदै आउँदा यहाँका अतिविपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमै खुशी छाउने गरेको छ । यहाँ दीपावली र छठमा बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, कोनियाँ र पङ्खासहितका सामान पूजाआराधनासँगै जोडिने भएकाले यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले ब्यस्तता बढेको हो । 

डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य ब्यस्त देखिन्छन् । घरमूलीदेखि पाँच÷सात वर्ष उमेर कटेका नानीहरु पनि लगनका साथ काममा ब्यस्त भएका देखिदो छ । अन्य बेला अभाव नै अभावमा गुजारा चलाउने डोम समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र स–साना नानीहरुको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठ जोडेर राख्ने गर्छन् । 

‘के गर्नु हजुर, वर्षभरिको नगद खर्चको जोहो गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाइँदैन’, भङ्गाहा–५ सिद्धपुरको डोम बस्तीका अगुवा प्रगाश भन्नुहुन्छ – ‘स–साना नानीहरुको रहर र चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आस साँचेका हुन्छौं ।’ अन्य बेला आफ्ना शीपको खासै माग नहुने हुँदा वर्षभरिको नगद खर्चको जोहो पनि यसै बेला गर्न पर्ने दबाब हुने गरेको प्रगाशको थप भनाइ छ । 

दीपावली नजिकिएर बाबु÷आमा काममा ब्यस्त भएसँगै सामान बनाइदिन भन्न आउने ग्राहक बाक्लिएपछि स–साना नानीको फर्माइस पनि बाक्लिने गरेको छ । ‘माय, दिबालीआ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी लादिहे,’ (आमा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाई रङ्गीबिरङ्गी चङ्गा ल्याइदिनु होला) पर्वका लागि माग भएका कप्टेरा र चोयाका सामान बुनिरहेकी बर्दिवास–१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेका छ वर्षीय छोरा रमुवा मरिकले माग गरे । रामकलीले रमुवालाई दीपावलीमा चङ्गा ल्याइदिने बताउनुभएको छ ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक हो भन्ने कुराबारे पूरै बेखबर डोमहरु स–साना पराले झोपडीमा पुस्तौंदेखि गुजारा चलाइरहेका छन् । चरम गरीबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नि संस्कारमा आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका सामान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेशाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठ चैं आपूmहरुले पनि निष्ठापूर्वक मनाउने भएकाले यी पर्वमा प्रयोग हुने सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाउने गरिएको डोमहरु बताउँछन् ।

जिल्लाभरिमा एक हजार ५० (२०६८ सालको जनगणनाअनुसार) मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येक जसो बस्तीको पुछारमा छुट्टै बस्तीजस्तो देखिने गरी एक/दुई घरमा बसोबास गरेका भेटिन्छन् । मधेशमा अत्यन्त पछि परेका जाति समुदायभित्रका डोमको नयाँ लुगा किन्ने, आफन्तकहाँ भेट्न कोशेली बनाउने, स–साना नानीको रहर पूरा गरेर वर्षको अन्तसम्म नून तेलको जोहोसमेत तिहार र छठको कमाइबाट हुने गरेको छ ।

‘गरीब छौँ, चाहिँदो खर्चको पनि अभाव छ तर, स–साना नानीको मन त हो, गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन्, घर आएर त्यसैको फर्माइस गर्छन्,’ लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका रामलाल मरिकले भन्नुभयो – ‘नानीहरुले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएसम्म नानीहरुको रहर हामी पूरा गर्छौँ ।’

देशमा अवसरबाट पछि परेका सिमान्तकृत जाति समुदाय, गरीब र दलितहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि ती कार्यक्रम भने जिल्लाका डोम जातिको बस्तीमा नपुगेको सामाजिक अभियन्ताहरुको टिप्पणी छ । सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहितका जाति समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–४ की राजनीतिक कार्यकर्ता हीरादेवी दाहाल बताउनुहुन्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया