सुन आयातमा लाग्ने भन्सार दर घटेसँगै बजारमा प्रभाव, मूल्य घट्न ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – यस वर्षको तिहारमा गएको वर्षभन्दा आठ लाख रुपैयाँ बढीको फूलको माला खपत हुने भएको छ । गएको वर्ष तिहारमा १७ लाख माला खपत भएको थियो यस वर्ष बजारमा २५ लाख मालाको माग रहेको बताइएको छ ।
बजारमा फूलको माग बढे पनि स्वदेशमै उत्पादन राम्रो रहेकाले आयात गर्ने फूलमा भने कमी आउने भएको छ । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ ।
यस वर्षको तिहारमा खपत हुने मालामध्ये दुई लाख ५० हजार माला मात्रै भारतबाट ल्याउने र बाँकी अन्य सबै स्वदेशी उत्पादनले नै पुग्नेछ । अघिल्ला वर्षको तुलनामा यस वर्ष ठिक समयमा तिहार परेको छ । जसका कारण स्थानीय फूल फुलिरहेका छन्, ती सबै फूल तिहारका लागि प्रयोग हुन्छ । व्यसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुन् ।
यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म बढी तिर्नुपर्ने देखिन्छ । गएको वर्ष ५० देखि ६० रुपैयाँभन्दा बढी मूल्यमा माला किन्नुपर्ने अवस्था नभएको फ्लोरिकल्चर एसोसियशनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताउनुभयो । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरे पनि माग बढेकाले केही माला भारतबाट ल्याउनुपर्ने अवस्था रहेको हो ।
तिहारमा मात्रै १५ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने गरेको छ । ‘यस पटकको तिहारमा भारतबाट अत्यन्तै थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला केही आयात गर्नुपरेको छ’, श्रेष्ठले भन्नुभयो, ‘अहिले स्वदेशमै ९३ प्रतिशत फूल उत्पादन हुन थालेकाले सात प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका वर्षमा १० प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।’
६० प्रतिशत माला खपत
काठमाण्डौ उपत्यकामा सबैभन्दा बढी ६० प्रतिशत माला खपत भएको छ । स्वदेश र विदेशमा गरी वार्षिक दुई अर्ब ४२ करोड रुपैयाँको फूलको कारोबार भएको थियो ।
तिहार र अन्य मौसममा गरी ११ करोड रुपैयाँ बराबरको फूल वर्षिकरूपमा विदेशबाट आयात गरिँदै आइएको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गरेको छ ।
तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब आयात गर्नुपरे पनि मखमली र गोदावरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको अवस्था छ । अष्टे«लिया र मलेसियामा धेरै नेपालीले बसोबास गर्ने गरेकाले तिहारमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । व्यावसायिकरुपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ ।
यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले यसको व्यवसायिक खेती गर्दै आएका छन् ।
नेपालमा २००७ सालदेखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाण्डौ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६ सय ७५ पुष्पखेती तथा नर्सरी विस्तार भैसकेको छ । मुख्यगरी काठमाण्डौ उपत्यकामा मात्रै तीन सय व्यवसायीले यसको खेती विस्तार गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।