आउँदो माघ महिनासम्म रानीपोखरीमा पानी

 कात्तिक १७, २०७६ आइतबार १२:५७:१६ | रासस
unn.prixa.net

काठमाण्डाै – लामो समयदेखि पानीविहीन ऐतिहासिक रानीपोखरीमा आउँदो माघ महिनासम्ममा पानी राख्ने तयारी भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आउँदो पुस मसान्तसम्ममा रानीपोखरीको पिँधमा कालो माटो राखी माघमा महिनाभित्र पानी राख्ने तयारीका साथ काम भइरहेको जनाएको छ । पिँधमा राख्ने माटो भक्तपुर, पनौती र सतुङ्गलबाट ल्याइनेछ ।

पोखरी पुनर्निर्माण सुरुआती समयमा यहाँ रहेको माटो र पानी अन्तै लगिएको हुनाले अहिले राख्ने तयारी गरिएको हो । विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको जिम्मा प्राधिकरणले पाएसँगै कामले गति लिएको छ ।

सुरुको समयमा पुनर्निर्माणको जिम्मा काठमाण्डाै महानगरपालिकाले पाए पनि काम हुन नसकेपछि पछिल्लो समय पुनर्निर्माणको जिम्मा प्राधिकरणले पाएको हो । प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम ६० प्रतिशत सकिएको छ भने पोखरीको बाहिरी भागको काम पनि धमाधम भइरहेको छ ।

अहिले मन्दिर वरपर सफाइ र मन्दिर पुनर्निर्माणका लागि आवश्यक पर्ने काठ निर्माण भइरहेका छन् । बाहिरबाट देखिने काम नभए पनि पुनर्निर्माणका लागि आवश्यक पर्ने सामग्री निर्माण भइरहेका छन् । मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनर्निर्माण गर्न गएको असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ । 

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनर्निर्माणको शुरुआत रानीपोखरीबाटै गर्नुभएको थियो । विसं २०७३ को भाइटीकामै मन्दिर खुला गरिने उद्देश्यले निर्माण गर्न लागिएको उक्त मन्दिर चार वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन ।

मन्त्रिपरिषद्को गएको माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत यो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण गर्ने गरी प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्र मल्लको नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण कार्य करिब पाँच वर्षभित्र अर्थात नेसं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (विसं १७२७/इ.सं. १६७०) मा शिलापत्र राखिएको थियो । 

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । 

पुनर्निर्माणको काम पूर्णरूपमा हुन नसक्दा यस वर्षको तिहारमा पनि सर्वसाधारणले मन्दिरभित्र नै गएर बालगोपालेश्वरको दर्शन गर्न नपाउँदा बाहिर नै मूर्ति राखेर दर्शनको व्यवस्था गरिएको थियो ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया