खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
हुम्ला – हुम्लाका नागरिकलाई जिल्ला बाहिर जान टिकट पाउन समस्या भएको छ । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा सेवा दिँदै आएका निजी एयरलाइन्सले उडान कम गरेका छन् ।
नेपालगञ्जबाट उडान गर्दै आएको सीता एयरलाइन्सले एक हप्तादेखि र समिट एयरलाइन्सले २ दिनदेखि उडान बन्द गरेको छ । तारा एयरलाइन्सले दैनिक एक उडान गर्दै आए पनि कोठाबाट नै टिकट बुक गर्ने गरेको विमानस्थल पुगेका यात्रुले गुनासो गरेका छन् । जिल्ला बाहिर जानलाई पहुँचवालाले मात्रै टिकट पाउने गरेका छन् ।
निजी एयरलाइन्सले नियमविपरीत उडान गर्दा सबैभन्दा बढी विद्यार्थी मर्कामा परेका छन् । काठमाण्डाैमा अहेब अध्ययन गर्दै आएका गोरख तामाङले यही कात्तिक २८ गतेदेखि आफ्नो फाइनल परीक्षा दिन जान टिकटका लागि चार एयरलाइन्सका कार्यालयमा धाउँदा पनि कोही नभेटिएको गुनासो पोख्नुभयो । यस्तै, सिमकोट गाउँपालिका–२ का प्रेम भण्डारीले सिमकोट विमानस्थलमा टिकटका लागि गएको हप्तादेखि धाए पनि नपाएको दुखेसो गर्नुभयो ।
सुर्खेत र नेपालगञ्जबाट नियमित उडान गर्ने सहमति गरेका सीता, तारा, र समिट एयरलाइन्सले उडान नगर्दा यात्रुलाई टिकट पाउन मुस्किल भएको छ । सिमकोट विमानस्थलका प्रमुख गौरीशङ्कर शाहले निजी एयरलाइन्सले नियमानुसार हप्ताको एक उडान भरिरहेका बताउनुभयो । नेपाल एयरलाइन्सले भने एक हप्तामा तीन उडान गर्ने सहमति गरे पनि हप्ताका २ उडान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
तीन, चार दिनको अन्तरालमा एक उडान गर्ने निजी जहाजले कोठा र फोनका आधारमै टिकट बाँडफाँट गर्ने गरेको सिमकोट विमानस्थलमा भेटिएका सर्वसाधारणको गुनासो छ । जिल्लाका तल्लो क्षेत्रका हुम्लीलाई बाहिर जान सिमकोट पुगे पनि टिकट पाउन समस्या हुनुका साथै टिकटको पैसा होटलमा बास बसेर खाना खाँदैमा जाने गरेको गुनासो जनक सुनारले गुनासो गर्नुभयो ।
नेपालगञ्ज र सुर्खेतदेखि नियमित उडान नहुँदा दशैँ मनाएर जिल्ला बाहिर जाने यहाँका नागरिकलाई सास्ती भएको छ । बिहान ६ः०० बजेदेखि विमानस्थलमा टिकटका लागि लाइन लागे पनि टिकट पाउन मुस्किल भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।