पाँचमध्ये तीन जना आमाले शिशुलाई ६ महिनासम्म दूध मात्रै खुवाउने गरेको पाइयो

 साउन १७, २०७७ शनिबार १०:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा पाँचमध्ये तीन जना आमाले मात्रै शिशुलाई जन्मेको ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेको पाइएको छ । 

केन्द्रीय तथ्याङ्क विभागले गरेको सर्वेक्षणले पाँच जना आमामध्ये तीन जना अर्थात् ६२ दशमलव १ प्रतिशतले मात्र आफ्नो बच्चालाई जन्मेको ६ महिनासम्म आफ्नो दूध मात्रै खुवाउने गरेको पाइएको हो । 

प्रदेशगत आधारमा ६ महिनासम्म शिशुलाई दूध मात्रै खुवाउने आमा प्रदेश २ मा धेरै छन् । प्रदेश २ मा ६९ दशमलव ९ प्रतिशत, कर्णाली प्रदेशमा ६८ दशमलव ३ प्रतिशत र प्रदेश ५ मा ६३ दशमलव २ प्रतिशतले ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेका छन् ।

सबैभन्दा कम वाग्मती प्रदेशमा ५१ दशमलव १ प्रतिशतले मात्रै ६ महिनासम्म आफ्नो दूध खुवाउने गरेको पाइएको छ । यस्तै पछिल्लो समय आमाहरुले शिशुलाई स्तनपान नगराउने चलन बढ्दै गएको पाइएको छ। ६ महिनासम्मका शिशुलाई स्तनपान नै नगराउने वा गराए पनि थप खानेकुरा खुवाउँदा स्वास्थ्यमा समस्या देखिने क्रम बढेको पोषणविद् डाक्टर अरुणा उप्रेतीले जानकारी दिनुभयो ।

बच्चा ६ महिनाको नहुँदासम्म आमाकै दूध मात्रै खुवाउनुपर्ने र त्यसको विकल्प खोज्न नहुनेमा उहाँले जोड दिनुभयो । पछिल्लो समय विशेष गरी शहरी क्षेत्रमा शिशु ६ महिनाको नहुँदै स्तनपानको सट्टा वा स्तनपानसँगै दूध अथवा लिटो खुवाउने प्रवृत्ति बढ्दै गएको छ ।

यसरी खुवाउँदा शिशुलाई आवश्यकताभन्दा धेरै पोषण हुने र त्यसले पछिसम्म स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नसक्ने डाक्टर उप्रेतीको भनाइ छ । ६ महिनासम्म शिशुलाई आमाको दूध मात्रै खुवाउँदा शिशुलाई भविष्यमा हुने मधुमेह, झाडापखाला लगायतका स्वास्थ्य समस्या कम हुने विभिन्न अध्ययनले देखाएको छ । यस्तै पछिल्लो समय शहरी क्षेत्रमा शल्यक्रियामार्फत बच्चा जन्माउने क्रम बढेको छ ।

शल्यक्रिया गरेर शिशु निकाल्दा दुई तीन दिनसम्म आमालाई दूध चुसाउन समस्या हुन्छ । त्यो समय  बट्टाको दूध खुवाउँदा पछि शिशुले दूध चुस्न जानेन वा खान मानेन भन्दै बट्टाको दूधलाई निरन्तरता दिने गरेको पाइएकाले त्यसो नगर्न पनि पोषणविद् अरुणा उप्रेतीले आग्रह गर्नुभयो ।

सुत्केरीलाई दाल, गेडागुडीको झोल, ज्वानो, गुदपाकलगायतका खानेकुुरा प्रशस्त मात्रामा खुवाउँदा शिशुको लागि आवश्यक दूध पुग्ने उहाँको भनाइ छ । आमाको दूध बच्चाको लागि अमृत समान हुने भएकाले थकाइ लाग्यो, कामले फुर्सद भएन भनेर बट्टाको दूध वा अरु खानेकुरामा जोड नगर्न पनि डाक्टरको सुझाव छ । 

आजदेखि एक हप्तासम्म ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एकमात्र आधार’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह मनाइँदैछ । अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया