लकडाउनका कारण प्रभावित बनेकाे खोप कार्यक्रम नियमित

 साउन १८, २०७७ आइतबार ७:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - लकडाउनका कारण प्रभावित बनेको बालबालिकाहरुको खोप कार्यक्रम नियमित भएको छ । 

लकडाउनको बेला विभिन्न कारणले प्रभावित बनेको खोप सेवा लकडाउन खुल्ने बित्तिकै फेरि नियमित गरिएको बाल स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो। 

उहाँका अनुसार अहिले देशभरका १६ हजार खोप केन्द्रबाट नियमित खोप सेवा सञ्चालन भइरहेको छ । खोप सेवा प्रभावकारी नभए बाल मृत्युदर बढ्न सक्ने भन्दै तत्काल देशभर नै सञ्चालन गरिएको उहाँको भनाइ छ । ६ लाख २० हजार बालबालिकालाई हरेक वर्ष निःशुल्क खोप लगाउने गरे पनि लकडाउनको समयमा धेरै ठाउँमा रोकिएका थिए ।

सबै स्वास्थ्यकर्मी, जिल्ला स्वास्थ्य कार्यालय र आपूर्ति केन्द्रहरू अनि स्थानीय प्रशासनसँग समन्वय गरेर सेवा सञ्चालन गरिएको बाल स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।लकडाउन खुले पनि कोरोनाको जोखिम कायमै रहेकाले खोप लगाउँदा स्वास्थ्यकर्मीहरूले पनि मास्क लगाउने, दूरी कायम गर्ने, भीडभाड नगरी खोप सेवा सञ्चालन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो। 

नेपालमा बच्चा जन्मिएपछि पहिलो १५ महिनाभित्र १२ प्रकारको खोप लगाउनुपर्छ । यसैबीच कोरोनाका कारण रोकिएको दादुरा रुबेला खोप अभियान पनि पूरा भएको छ । असार महिनाभित्रमा २५ लाख बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप लगाइएको उहाँले जानकारी दिनुभयो । 

यो खोप ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई लगाउने गरिन्छ । यस्तै १६ लाख ३६ हजार बालबालिकालाई पोलियो थोपा पनि खुवाइएको बाल स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले जानकारी दिनुभयो । जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई पोलियो थोपा खुवाउने गरिन्छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया