शास्त्र र सरकार दुवैको नियम पालना गर्दै जनैपूर्णिमा मनाउन संस्कृतिविद्को सुझाव

 साउन १९, २०७७ सोमबार ७:३२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शास्त्र र सरकार दुवैको नियम पालना गर्दै जनैपूर्णिमा पर्व मनाउन संस्कृतिविद्ले सुझाव दिएका छन् ।  

संस्कृति जोगाउन शास्त्रको नियम र कोरोनाबाट जोगिनका लागि सरकारको नियम पालना गरेर जनैपूर्णिमा पर्व मनाउन संस्कृतिविद् डाक्टर चिन्तामणि योगीले सुझाव दिनुभएको छ । गएका वर्षहरुमा जस्तै गरी यो वर्ष जनैपूर्णिमा मनाउँदा कोरोना सङ्क्रमणको जोखिम हुन सक्छ ।  

कोरोना भाइरसको सङ्क्रमणबाट जोगिनका लागि सरकार र विश्व स्वास्थ्य सङ्गठनले भनेजस्तै सावधानीका उपाय अपनाएर चाडपर्व मनाउन उहाँले आग्रह गर्नुभएको छ । धर्म र संस्कृतिको नाममा मन्दिर, घर वा सार्वजनिक ठाउँमा भिडभाड गर्दा कोरोना सङ्क्रमण भयावह बन्न सक्ने भन्दै डाक्टरहरुले सचेत गराउँदै आएका छन् । 

त्यसैले जनै मन्तर्ने ठाउँदेखि पण्डित र डोरो वा रक्षासूत्र बाँध्ने व्यक्ति वा परिवारले सावधानी अपनाउन अपनाउन संस्कृतिविद् योगीले आग्रह गर्नुभएको छ । कोरोनाबाट जोगिनका लागि जनै मन्तर्ने लैजाँदा सामाजिक दूरी कायम गर्नुपर्ने उहाँ बताउनुहुन्छ । 

अहिलेको  समय एकदमै होसियारीपूर्वक काम गर्नुपर्ने र चाडपर्व मनाउनुपर्ने समय भएकाले सकेसम्म आफ्नो-आफ्नो घरमा जनै मन्तर्न उहाँले सुझाव दिनुभएको छ । यस्तै रक्षा बन्धन बाँध्ने पण्डित वा पुरोहितहरुले हातमा डोरो वा रक्षासूत्र बाँध्नुको सट्टा अलग्गै दिएर  व्यक्ति आफैँले बाँध्दा कारोना सङ्क्रमणको जोखिम पनि कम हुने र संस्कृतिको पनि संरक्षण हुने उहाँ बताउनुहुन्छ । 

संस्कृतिविद्  योगी भन्नुहुन्छ, ‘जसरी सामान किन्दा अलग्गै पैसा राखेर अलग्गै सामान लिने परिपाटी पछिल्लो समय बन्दै गएको छ । त्यही परिपाटीअनुसार नै रक्षाबन्धन बाँध्न सकिन्छ । सबैको हात-हातमा बाँध्दै हिँड्नुभन्दा अलग्गै राखिदिने गर्नुपर्छ । आफूले आफैँलाई बाँध्दा राम्रो हुन्छ ।  यस्तै मास्क लगाउने, साबुन पानीले मिचिमिची हात धुने कुरा पनि उत्तिक्कै महत्वपूर्ण छ । 

आफू कसरी सङ्क्रमणबाट बच्न सक्छु भनेर त्यहीअनुसारको सावधानी अपनाउँदै पर्व मनाउन सक्नु महत्वपूर्ण कुरा भएको उहाँको भनाइ छ । यस्तै यो वर्ष भोजभतेर नगर्न उहाँ आग्रह गर्नुहुन्छ । परिवारका सदस्य मात्रै बसेर सामान्य तरिकाले मनाउँदा सङ्क्रमणबाट बच्न सकिन्छ । 

यस्तै आज साउनको सोमबार पनि परेकाले घरमै बसेर पूजा ध्यान गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।  आफन्तसँग भेटेरभन्दा पनि फोनबाट, सामाजिक सञ्जालको प्रयोगबाट कुराकानी र शुभकामना आदानप्रदान गरेर जनैपूर्णिमा पर्व मनाउन संस्कृतिविद्को सुझाव छ ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया