युरोपेली च्याम्पियन्स लिगमा फिएनोर्ड, बेनिफिका, ब्रायन म्युनिख ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – एसिड प्रहार गर्नेलाई कडा कानुन बनाइ कारबाही गर्न पीडितहरुले माग गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरुले कडा कानुन बनाउन माग गरेका हुन् । उनीहरुले एसिड प्रहार गर्ने व्यक्तिलाई जन्मकैद गर्नुपर्ने अथवा एसिडको बदलामा एसिडबाट नै कारबाही हुनुपर्ने माग राखेका छन् ।
कमजोर दण्ड सजायका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको र अरुको जीवन बर्बाद पार्ने गरी आक्रमण गर्नेहरुलाई सामान्य दण्ड सजायले नपुग्ने भन्दै कडा कानुन बनाउन माग गरेका हुन् ।
एसिड आक्रमणबाट पीडित हुनु भएकी जेनी खड्काले कानुनमा दण्ड सजायको व्यवस्था कम हुँदा एसिड आक्रमणको घटना नरोकिएको बताउनुभयो । कमजोर कानुन देख्दा आफूलाई अदालत जानसमेत मन नलागेको उल्लेख गर्दै सामान्य कानुनबाट न्याय नपाएकाले आक्रमण गर्नेहरुलाई पनि एसिडको बदला एसिडबाटै कारबाही गर्ने व्यवस्था गर्न माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कानुन पढ्दा दुई वटा कानुन के थियो भने एक त पाँच वर्षदेखि आठ वर्षसम्मको सजाय त्यो पनि अनुहार नै कुरुप भएको छ भने अरु शरीरकाे कुनै अर्थ नै छैन । मेरो त हातभरि छ, घाँटीभरि छ, अनुहार त मेरो बचेको छ, त्यो मेरो लक्कीले बचेको हो । जहाँ परे पनि आखिर पीडा त उस्तै नै हो । अदालतमा के छ भने अरु बाँकी पार्टको तीन वर्षदेखि पाँच वर्षसम्मको र अनुहार नै कुरुप भएको छ भने पाँच वर्षदेखि आठ वर्षसम्मको छ । क्षतिपूर्ति पनि एक लाखदेखि पाँच लाखसम्मको भन्ने छ । क्षतिपूर्ति चहिँदैन किन भने त्यो क्षतिपूर्तिले हुनेवाला केही छैन । एसिड आक्रमण हुन्छ, सरकारले पूरै जिम्मा लिओस्, उसको स्वास्थ्यको उपचार गर्ने पूरै जिम्मा लिओस् । अनि कानुनमा, हजुरहरुलाई सायद सुन्दा बदलाको भावना हुन्छ तर एसिडको बदला एसिड नै भयो भने एक जना पनि महिला कसैमाथि पनि आक्रमण हुँदैन ।'
एसिड आक्रमणबाट पीडित हुनु भएकी मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्मकैद हुनुपर्ने माग गर्नुभयो । आठ वर्षसम्म कैद सजाय हुने भए पनि दिन रात गणना गर्दा चार वर्षमै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अपराधीलाई जन्म कैद हुनुपर्याे । किनकि कानुनमा पाँच वर्षदेखि आठ वर्षसम्म सजाय छ । रात दिन गिन्ती गरेर आठ वर्ष सजाय भयो भने चार वर्ष मै निस्किन्छ र तिनीहरुले पीडा के हो बुझ्दै बुझ्दैनन् । हाम्रो यो दाग कहिले पनि जाँदैन । यो दाग हाम्रो जीवनभरिका लागि नै बस्छ । त्यसैले म भन्न चाहन्छु कि अपराधीलाई जन्मकैद नै हुनुपर्छ ।’
एसिड आक्रमणबाट पीडित हुनु भएकी संगीता मगरले सजाय कम हुँदा प्रतिशाेध लिने काम बढेको बताउनुभयो । उहाँले अरुको जीवन बर्बाद गरेपछि पनि आठ/दश वर्ष मात्रै कैद सजाय भोगेर बाहिरिन पाइन्छ भने एसिड प्रहार किन नगर्ने भन्ने सोच आएकाले घटनाहरु घटिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मैले त्यसको जिन्दगी बर्बाद गर्नु थियो, मैले गरिसकेँ, मलाई कति नै सजाय हुन्छ र ? धेरै भए आठ वर्ष/दश वर्ष के नै हुन्छ र मेरो जिन्दगी ? म आठ/दश वर्षमा बूढो त हुँदिन, सायद त्योपछि पनि मेरो जिन्दगी छ, म केही गर्छु, त्यसको जिन्दगी त मैले डामाडोल गरेर मेरो इच्छा पूरा भयो । मेरो जिन्दगी अझै बाँकी छ भन्ने सोचको कारणले गर्दा पनि अपराधीहरुको झन् मनोबल बढ्छ कि । कानुन हाम्रो देशमा छैन ।’
मुलुकी अपराध संहिताको दफा १९३ अनुसार तेजाब वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी अनुहार कुरुप हुने गरी आक्रमण गर्नेलाई पाँचदेखि आठ वर्षसम्मको कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा पीडा पुर्याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।