'रानीपोखरीमा सकेसम्म आकाशे पानी, नभए मेलम्ची'

 साउन २१, २०७७ बुधबार २०:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताउनुभएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाण्डाै उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयबीच बुधाबार भएको अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरीमा आकाशे पानीलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो ।

रानीपोखरीको पिँध र वरिपरिको पर्खाल पुनर्निर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको छ । दरबार हाइस्कुल, त्रिचन्द्र कलेजलगायतका क्षेत्रबाट पानी हार्भेस्टिङका लागि काम भइरहेकाे छ ।  

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डीप बोरिङ र मेलम्चीको पानी रहेको जानकारी गराउनुभयो । 

अन्तर्क्रियामा पूर्वसचिव एवं जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी सङ्कलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिनुभयो । उहाँले डीप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने बताउनुभयो ।

काठमाण्डाै उपत्यका खानेपानी लिमिटेडका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्ने क्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताउनुभयो ।

सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह तथा खेर गएको पानी प्रशोधन गरी प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले डीप ट्युबेलहरु प्रयोग नगर्न सुझाव दिनुभयो ।

संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले परम्परागत इन्जिनियरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डीप बोरिङको सट्टा प्राकृतिक उपायहरु अपनाउँदै पानी भर्न आग्रह गर्नुभयो । यस्तै सुशील श्रेष्ठले पोखरी सफा गर्न दुई वटा निकास राख्न सुझाव दिनुभयो ।

स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधिहरू ब्युँताउने उपायतिर लाग्न आग्रह गर्नु भएको थियो । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया