गोकुल बाँस्कोटालाई सांसद कँडेलको जवाफ : ‘जस्ता गुरु, त्यस्तै चेला’

 चैत २३, २०७७ सोमबार १५:१४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलबीच घोचपेच भएको छ । विशेष समयमा बोल्नुभएका सांसद बाँस्कोटाले सरकारले कैयौँ राम्रा काम गरेको तर जस नपाएको भन्दै विपक्षीको निकै आलोचना गर्नुभयो । 

विशेष समयमा बाेल्दै सांसद बाँस्कोटाले विकासका लागि राजनीति नगर्ने हो भने के को लागि सांसद बनेको भन्दै प्रश्न पनि गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सरकारले तीव्र विकास गरिरहेको छ, केहीलाई देखी नसक्नु भएको छ, विकास निर्माण देख्न र सुन्न नसक्नेले कानमा कपास र देख्न नसक्नेले साउने चस्मा लगाए हुन्छ ।’

त्यसपछि बोल्नुभएका नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सुरुमै बाँस्कोटातर्फ लक्षित गरेर भन्नुभयो, ‘जस्ता गुरु, त्यस्तै चेला ।’

त्यसपछि कँडेलले २०७४ सालको चुनावको प्रचारको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गोरखा पुगेर शेरबहादुर देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्दै कार्यकर्तालाई समवेदना दिएको स्मरण गर्नुभयो । देशको प्रधानमन्त्री भइसकेको व्यक्ति र पार्टीको अध्यक्ष जस्तो पदमा बसेर के बोल्ने, के नबोल्ने भन्ने कुरा ओलीलाई ज्ञान नभएको कँडेलले बताउनुभयो । 

‘पछिल्लो समयमा ओलीका अभिव्यक्ति सुन्ने हो भने हामी आफैलाई लाज लाग्छ, ओलीका यस्तै अभिव्यक्तिले गर्दा उहाँसँगै लडेका कैयौँ साथीले छाडिसके, आफ्नै साथीलाई उहाँले पन्छाउनुभएको छ, कुर्सी छाड्नुपर्ने हो कि भन्ने पीडाले उहाँलाई सताएको छ, गोरखामा उहाँले शेरबहादुर देउवालाई जे भन्नुभएको थियो, त्यही शब्दमा हामीले भन्ने हो भने, सायद एमालेको अन्तिम प्रधानमन्त्री केपी ओली नै हुन् ।’ 

यसअघि प्रतिनिधि सभाको साेमवारकाे बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।   

अन्तिम अपडेट: भदौ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया