सगरमाथा क्षेत्रमा बाक्लो हिमपात, एक सयभन्दा धेरै आरोही दोस्रो शिविरमा रोकिए

 जेठ १३, २०७८ बिहीबार १५:२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

खिमलाल गाैतमकाे फेसबुकबाट

साेलुखुम्बु – सगरमाथाको दोस्राे शिविरमा झण्डै एक सय जना पर्वतारोही तथा उनीहरूका सहयोगी राेकिएका छन् । हिमपातका कारण दोश्रो शिविर अर्थात् ६ हजार चार सय मिटरको उचाइमा उनीहरू रोकिएका पर्यटन विभागको आधार शिविर सम्पर्क अधिकृत खिमलाल गौतमले जानकारी दिनुभयो ।

आरोहणका लागि चौथो शिविरसम्म पुगेका आरोहीहरू मौसम खराब हुने सूचना आएसँगै फर्किएका र उनीहरू दोस्राे शिविरमा अड्किएका उहाँले बताउनुभयो । मौसम खराबीका कारण उनीहरूको उद्धारका लागि हेलिकप्टर पनि जान सकेको छैन । अहिले आरोहीहरू सुरक्षित रहेकाले मौसम सुधार नभएसम्म सबैलाई यथास्थितिमा रहन आग्रह गरिएको उहाँले बताउनुभयो ।

बङ्गालको खाडीमा सुरु भएको 'यास्' नामको चक्रवातको प्रभावले अहिले हिमाली क्षेत्रमा हिमपात र हावाहुरी चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दोस्राे शिविरमा आइपुगेका आरोही र सहयोगीहरू मौसम अनुकूल हुने पर्खाइमा रहेका सम्पर्क अधिकृत गौतमले बताउनुभयो ।

उहाँका अनुसार आरोहण सम्पन्न गरेका कतिपय टोलीले मौसम खराब भएकाले दोस्रो शिविरमा रहेका आफ्ना सरसामान तल झार्न सकेका छैनन् । गौतमले सगरमाथा आरोहण गरी फर्किने क्रममा कतिपय आरोहीहरू घाइते भएको तर खराब मौसमका कारण उनीहरूलाई उद्धार गरी काठमाण्डौ पठाउन नसकिएको बताउनुभयो ।  

यसअघि गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो तथा डुबान जस्ता विपद्का घटना हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । यस्तै प्राधिकरणले पर्वतारोहणमा गएकाहरूलाई फिर्ता हुन पनि निर्देशन दिएको छ ।   

अन्तिम अपडेट: साउन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया