मोटरसाइकलको ठक्करबाट मेयरका उम्मेदवार श्रेष्ठ घाइते

 बैशाख २२, २०७९ बिहिबार १५:४६:० | भावुक योगी
unn.prixa.net

फाइल फाेटाे

बर्दिया – मोटरसाइकलको ठक्करबाट बर्दिया ठाकुरबाबा नगरपालिकामा मेयरका उम्मेदवार घननारायण श्रेष्ठ घाइते हुनुभएको छ ।

श्रेष्ठ आफैँले मोटरसाइकल चलाएर ठाकुरबाबा नगरपालिका ७ को सुन्दरबस्ती जाँदै गर्दा दुर्घटनामा पर्नुभएको हो । श्रेष्ठ चढेको मोटरसाइकललाई चाैबाटाेमा अर्काे मोटसाइकलले ठक्कर दिएको हो । ठाकुरबाबाको सुन्दरबस्ती गाउँको चोक नजिक भे १२ प ४५६९ नम्बरको मोटसाइकलले श्रेष्ठले चलाएको भे ६ प ५५९८ मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार श्रेष्ठको खुट्टामा चोट लागेको छ । घाइते श्रेष्ठलाई स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरी भेरी प्रादेशिक अस्पताल नेपालगञ्ज लगिएको छ । घाइते श्रेष्ठको दाँया खुट्टाको घुँडादेखि तलतिर भाँचिएको जानकारी दिइएको छ ।

ठक्कर दिने मोटरसाइकलका चालक ठाकुरबाबाका ज्ञानेन्द्रबहादुर खड्कालाई पनि समान्य घाइते भएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

श्रेष्ठ नेकपा एमालेबाट यसअघि २०७४ सालको पालिका चुनावमा मेयर पदमा विजयी हुनुभएको थियो । यही वैशाख ३० गते हुने चुनावका लागि उहाँले पदबाट राजीनामा दिएर उम्मेदवार बन्नुभएकाे हाे । 

अन्तिम अपडेट: चैत १९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया