लक्ष्मी पूजाको ‘पिक आवर’मा पनि बिजुली निर्यात, ३८० मेगावाट भारतमा बिक्री

 कात्तिक ८, २०७९ मंगलबार ८:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि भारतमा बिजुली निर्यात गरेको छ ।

नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न थालिएसँगै पहिलो पटक यसपालि प्राधिकरणले लक्ष्मी पूजाको बेलुका पनि बिजुली भारत निर्यात गरेको हो ।

प्राधिकरणका अनुसार हिजो बेलुका पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको छ ।

लक्ष्मी पूजाको बेलुका ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग थियो । त्यो समयमा १ हजार ३ सय ५ मेगावाट बिजुली खपत भएको प्राधिकरणले जनाएको छ ।

गएको वर्ष लक्ष्मी पूजाको दिन पिक आवरमा बिजुलीको माग १ हजार २ सय ७० मेगावाट थियो । गएको वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाका बेला पिक आवरको माग ३५ मेगावाटले बढी हो ।

विगतका वर्षहरुमा लक्ष्मीपूजाको माग धान्नका लागि बिजुली आयात हुँदै आएकोमा यसवर्ष आन्तरिक उत्पादनले लक्ष्मीपूजाको ‘पिक लोड’ धानेको छ ।

अझ खपत हुन नसकेको बिजुली भारत समेत निर्यात भएको छ भने २ सय मेगावाट बराबरको बिजुली खपत हुन नसकेर खेर समेत गएको छ । 

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गएको जेठ १९ गतेदेखि  बिक्री सुरू गरेको थियो ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेच्ने लक्ष्य रहेको बताउनु भएको छ ।
 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया