देशभरको सुरक्षा व्यवस्था बिहानैदेखि कडा, उच्च संवेदनशील क्षेत्रमा विशेष टोली खटियो

 मंसिर ४, २०७९ आइतबार ७:२०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – आज मङ्सिर ४ गते अर्थात् आम चुनाव । सुरक्षित र शान्तिपूर्ण रूपमा मतदान गराउन बिहानैदेखि देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

देशका धेरै ठाउँमा बिहानैदेखि सुरक्षाकर्मी खटिएका छन् । चोक चोकमा खटिएका प्रहरीले सुरक्षा जाँचमा कडाइ गरिरहेका छन्  । सुरक्षा व्यवस्थापन गरेकाले ढुक्क भएर मतदान केन्द्रसम्म पुग्न र कसैको दबाबमा नपरी भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि  पोखरेलले सुरक्षाको सबै व्यवस्थापन भएकाले ढुक्क हुन आग्रह गर्नु भएको छ । उहाँका अनुसार सुरक्षाका लागि तीनै घेरामा सुरक्षाकर्मी खटिसकेका छन्  । यस अघिका चुनावमा केही ठाउँमा बुथ क्याप्चर र धाँधलीका घटना भएकाले  यसपालि त्यस्तो हुन नदिन कडाइका साथ तयारी थालिएको उहाँले बताउनुभयो ।

२०६४ सालदेखि भएका घटना, अस्वाभाविक मतदान भएका आधारमा १० भन्दा बढी जिल्लाका केही मतदान केन्द्रलाई विशेष संवेदनशील सूचीमा राखेर हवाई गस्तीसमेत थालिएको गृह प्रवक्ता पोखरेले बताउनुभयो ।

यस अघिका चुनावमा झडप हुने तथा बुथ कब्जाको प्रयास हुने गरेका ठाउँमा थप मद्दतका लागि विशेष प्रहरी टोली खटिएका छन् । दोलखा, बाजुरा, कैलालीलगायत जिल्लामा यस्तो टोली खटाइएको गृह मन्त्रालयले जनाएको छ ।

यस्ता ठाउँलाई उच्च संवेदनशील सूचीमा राखेर विशेष सुरक्षा व्यवस्था अपनाइएको छ  । अति संवेदनशील ठाउँमा सेनाले हवाई गस्ती गर्नेछ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले १० हजार ८ सय ९२ मतदान केन्द्रमै पूर्ण सुरक्षाको व्यवस्था मिलाइएको बताउनु भएको छ । 

उहाँले मतदान स्थलमा वा भोट हाल्न जाँदै गर्दा केही समस्या परे पैसा नलाग्ने प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी गराउन समेत आग्रह गर्नु भएको छ । चुनावमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी दुई लाख ९८ हजार पाँच सय ७९ सुरक्षाकर्मी खटिएका छन् ।

चुनावको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी हुनेछन् भने बाहिरी घेरामा सेना र सशस्त्र प्रहरी खटिएका छन् ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया