प्रधानमन्त्री प्रचण्ड चीनमा, यस्ताे छ सात दिने भ्रमण तालिका

 असोज ६, २०८० शनिबार १२:३८:५४ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सात दिने भ्रमणका लागि आज चीन पुग्नुभएकाे छ । 

चीनको हाङझाओ विमानस्थलमा उहाँलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवम् चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभयो । यस अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि हुनुहुन्थ्यो । 

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको  ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्युयोर्कबाट हाङझाओ आइपुग्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्नुभएको थियो । 

प्रधानमन्त्री प्रचण्ड हाङ्झाउ सहरमा आयोजना गरिएको १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनुहुने कार्यक्रम छ । त्यसैगरी हाङ्झाउमा नै प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सि जीनपिङसँग भेटवार्ता गर्नुहुने छ । उहाँहरु बीच उच्चस्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । 

प्रधानमन्त्री प्रचण्ड याे कार्यक्रमपछि चीनको राजधानी बेइजिङ आउनुहुने छ । बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नुहुने कार्यक्रम छ । भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ्ग महानगरपालिकामा रहेको छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्नुहुनेछ । याे क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणाली बारेमा पनि जानकारी लिनुहुनेछ ।  महानगरपालिकाले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले यस विषयमा अध्ययन अवलोकन गर्नुहुने कार्यक्रम छ । 

यस भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची छ । यसैगरी उहाँले चीनमा रहेकाे नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नुहुने छ । सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीहरुको सहभागिता रहने छ । त्यस अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवर्द्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिने छ । सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा नेपालका उद्योगी व्यवसायीहरु पनि यहाँ आइपुग्नुभएको छ । 

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुने छ । तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कनुहुने कार्यक्रम छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया