नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित

 असोज ६, २०८० शनिबार १६:१६:३६ | रासस
unn.prixa.net

काठमाण्डौ – त्रिपुरेश्वरमा रहेको नेपाल आँखा अस्पतालबाट एक वर्षमा १ लाख ५७ हजार ७ सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव मेघराज गजुरेलले त्यस अवधिमा ९ हजार १ सय ८९ बिरामीको आँखाको शल्यक्रिया गरिएको जानकारी दिनुभयो ।

अस्पतालले गएको आर्थिक वर्ष २०७९/८० मा ८ सय ४० जना गरिब बिरामीलाई पूर्ण तथा आंशिकरुपमा उपचारमा छुट दिएको थियो । अस्पतालले उपत्यका बाहिर सञ्चालन गरेको १३ सर्जिकल आँखा शिविरमा ५ हजार २ सय १२ जनाको आँखा परीक्षण गरिनुका साथै ९ सय ५० जनाको शल्यक्रिया गरेको त्यस अवसरमा जानकारी दिइयो ।

अस्पतालले ३७ स्क्रिनिङ शिविरबाट ९ हजार ४ सय ५२ को आँखा परीक्षण गरी ७५ जनाको शल्यक्रिया गरेको जनाएको छ । सरकारी तथा सामुदायिक विद्यालयका १४ हजार ९ सय ९४ जना विद्यार्थीको आँखा परीक्षण गरी १ हजार १० थान चश्मा वितरण गरेको तथा शिविरबाट अस्पतालमा उपचारका लागि सिफारिस भइ आएका ३ सय ८४ जनाको शल्यक्रिया गरिएको जानकारी दिइयो ।

अस्पतालले स्वर्ण महोत्सवका अवसरमा ८० वर्ष नाघेका बिरामी तथा अपाङ्गता भएकालाई लाग्ने शल्यक्रिया शुल्कमा ५० प्रतिशत छुट दिने तथा गरिब बिरामीलाई निःशुल्क एवम् सहुलियतमा उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पतालले  सरकार, विभिन्न सङ्घसंस्थासँगको सहकार्य र समन्वयमा सेवा विस्तार गर्ने, आँखा स्वास्थ्य शिक्षाबारे सर्वसाधारणलाई अवगत गराउने, सेवाको गुणस्तर बढाउने तथा सेवालाई विशिष्टिकृत गर्ने,  नवीन उपकरण सेवा वृद्धि गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । 

पछिल्लो २५ वर्षयता पहिलो पटक यसवर्ष अस्पतालले खर्च कटाएर करिब पाँच करोड रुपैयाँ बचत गर्न सफल भएको छ । सञ्चालक समितिका कोषाध्यक्ष सविता भण्डारीले प्रस्तुत गर्नुभएको वार्षिक आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ४ करोड ९७ लाख ५९ हजार ५ सय ६६ बचत गर्न अस्पताल सफल भएको उल्लेख छ ।

अस्पतालका संस्थापक वरिष्ठ आँखा चिकित्सक डा रामप्रसाद पोख्रेल र अध्यक्ष गोपालप्रसाद पोखरेलले अस्पतालबाट प्रवाह सेवा गुणस्तरीय र प्रगतिउन्मुख रहेको बताउनुभयो ।

अस्पतालका आजीवन सदस्य मोति शान्ति शाक्यले अस्पतालको मोतिया बिन्दुको उपचार सेवामा सहयोग पुर्‍याउने हेतुले एक लाख रुपैयाँको चेक अध्यक्ष पोख्रेललाई हस्तान्तरण गर्नुभयो । अस्पतालले आगामी विश्व दृष्टि दिवसका अवसर पारी आगामी दिनमा काम गर्ने ठाउँमा आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने सोच अघि सारेको छ ।

उपाध्यक्ष दमनबहादुर घले र कार्यकारी निर्देशक धर्मराज गोसाईले अस्पतालले आँखा उपचारका क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको चर्चा गर्दै अस्पतालले विस्तार गर्ने सामुदायिक आँखा सेवा कार्यक्रमलाई सहयोग पुर्‍याउन आह्वान गर्नुभयो । 

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया