बाजुराको कोल्टीबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार

 माघ ६, २०८० शनिबार ९:४६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाजुराको पूर्वी उत्तरी भेग बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जना गर्भवतीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको डा. रञ्जित शाहले बताउनुभयो ।

खत्री र विष्टलाई तत्काल अप्रेसन गरी बच्चा झिक्नुपर्ने अवस्था रहेको हुँदा हिजो सुर्खेत पठाइएको डा. शाहको भनाइ छ । उहाँका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गर्नुपरेको हो ।

गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो । दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालनमा छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि शुरु भएको यो कार्यक्रम गर्भवती र नवजात शिशु सुरक्षाका लागि केन्द्रित छ । यसको मुख्य उदेश्य मातृ शिशु मृत्युदर कम गर्ने रहेको छ । तोकिएका क्षेत्रका गर्भवती तथा सुत्केरी जोखिममा परे नजिकैका स्वास्थ्यकर्मीमार्फत् प्रमुख जिल्ला अधिकारी वा स्वास्थ्यका कार्यालय प्रमुखसँग सम्पर्क गरेपछि उनीहरूले हवाई उद्धार कार्यक्रमका व्यक्तिसँग सम्पर्क गरी सहजीकरण गर्छन् ।

त्यसपछि सेनासँग समन्वय गरी हेलिकप्टर पठाएर सम्बन्धित बिरामीलाई नजिकै रहेको सुविधासम्पन्न अस्पतालमा पठाउने गरिन्छ । नजिकको अस्पतालमा पनि उपचार सम्भव नभएमा काठमाण्डौ ल्याउनुपरे पनि सम्पूर्ण खर्च सरकारले नै व्यहोर्छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया