अस्ट्रेलियाली पर्वतारोही एली पेपरले विना अक्सिजन अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने

 फागुन २६, २०८० शनिबार १५:३७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने हुनुभएको छ । उहाँले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औँ अग्लो आठ हजार ९१ मिटर उचाइकाे अन्नपूर्ण–१ को आरोहण गर्न लागेको बताउनुभयो । सेभेन समिट ट्रेक्समार्फत अन्नपूर्ण–१ आराेहण गर्न लागेकाे उहाँले जानकारी दिनुभयो ।

विना अक्सिजन हिमाल आरोहण गर्ने यात्राको शुरुवात भने उहाँले सन् २००७ मा नेपालको माउन्ट चोयु हिमालबाट गर्नुभएको थियो । अस्ट्रेलियाली पर्वताराेही पेपरले आफ्नो लक्ष्यअन्तर्गत विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये अहिलेसम्म दुई वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गरी सक्नुभएको छ ।

सन् २०२३ को जुलाई १५ मा विश्वको १२ औँ अग्लो आठ हजार ५२ मिटरको ब्रोडपिक र विश्वको पाँचौँ अग्लो आठ हजार एक सय ६३ को मनास्लु हिमाल सन् २०२३ को सेप्टेम्बर २८ मा आरोहण गरिसकेको उहाँले जानकारी दिनुभयो । ब्रोडपिक हिमाल विना अक्सिजन आरोहण गर्ने उहाँ पहिलो अस्ट्रेलियाली महिला बन्नुभएको थियो ।

४८ वर्षीया पेपरले महिलाहरूले सामना गरिरहेका चुनौतीहरूलाई जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेकाे बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै लक्ष्य हासिल गर्ने कुरामा विश्वस्त छु । मैले सम्पूर्ण जीवन यसमै लगाएकाे छु । शारीरिक, मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा आफैँलाई तालिम दिएको छु । यही सबै कुराले मलाई प्रेरित गरेको छ ।’

हिमाल आराेहणमा एली पेपरकाे २३ वर्षको अनुभव रहेको छ । यो वसन्त ऋतृमा नेपालको अन्नपूर्ण–१ सहित तीन वटा हिमाल आरोहण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

विश्वमा अहिलेसम्म छ जनाले मात्र अक्सिजनविना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गरेका छन् । त्यसमध्ये पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको मुख्य चुचुरोमा पुग्ने दुई जना पुरुष मात्र छन्, उनीहरूलाई १६ वर्ष लागेको थियो ।

विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालअन्तर्गत सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु, नाङ्गा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापाङ्मा पर्दछन् ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया